ब्रस गर्दा दाँतका पाँचै भाग सफा हुने गरी गर्नुपर्छ : दन्तरोग विशेषज्ञ डा. घिमिरे


डा. घिमिरे

काठमाडौँ,९ माघ। कुन समयमा ब्रस गर्ने, कुन मन्जन प्रयोग गर्ने र कस्तो ब्रसको प्रयोग गर्ने बारेमा धेरै जना अन्योलमा परेको देखिन्छ । ब्रस गर्दा कस्तो ब्रस र मन्जन प्रयोग गर्ने भन्ने कुरा एकदमै महत्त्वपूर्ण हुने चिकित्सकहरूले बताउँछन् । कुनै रोग नभएको अवस्थामा साँझ र बिहान अनिवार्य रूपमा गर्नुपर्ने दन्त रोग विशेषज्ञ डा सुवास घिमिरेले बताए ।

उनले भने, ‘सामान्यतया ब्रस राति सुत्नुभन्दा अगाडि र बिहान उठ्नेबित्तिकै गर्नुपर्छ । यो कुनै बिरामी नभएको हकमा लागू हुन्छ, तर बिरामीको हकमा खाना खानेबित्तिकै ब्रस गर्नुपर्छ ।’ ब्रस गर्दा दाँतको पाँचै भाग सफा हुने गरी गर्नुपर्छ । धेरै जसो मानिसहरू दाँतको गालातिरको भाग, टोक्ने भाग र जिब्रोतिरको भाग गरी तीन भाग मात्रै ब्रस गर्ने गरेको पाइन्छ ।

तर, दुईवटा दाँतको बीचमा ब्रस गर्ने गरेको पाइँदैन । दाँतको बीचमा इन्टरडेन्टल ब्रसको प्रयोग गरेर दाँत माझ्नुपर्ने डा घिमिरले बताउँछन् । यसरी दाँत माझ्दै गर्दा दाँतलाई फाइदा पुर्‍याउने मन्जनको प्रयोग गर्नुपर्ने उनी बताउँछन् ।

उनल भने, ‘सामान्यतया दाँत मन्जनबिना नै  ब्रसले मात्रै सफा गर्दा पनि हुन्छ । तर दाँत माझ्दा फिँज आएन भने दाँत माझेको जस्तो नहुन सक्छ, त्यसका लागि मन्जन नै चाहिन्छ । त्यस्ता व्यक्तिहरूका लागि कुनै पनि रोग छैन भने उनीहरूले ‘जेल’ वाला मन्जनको प्रयोग गर्नु उपयुक्त मानिन्छ ।’

यस्तो मन्जनले दाँतलाई बिगार्दैन र गिजालाई असर पुर्‍याउँदैन । तर, कुनै रोग छ भने चिकित्सकको सल्लाहअनुसार मात्र मन्जनको प्रयोग गर्ने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ