नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा मोन्टी देशाई नियुक्त


काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टिमले नयाँ मुख्य प्रशिक्षक पाएको छ। भारतीय प्रशिक्षक मोन्टी देशाई नेपालको मुख्य प्रशिक्षक नियुक्त हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) को मुख्य प्रशिक्षक छनोट समितिले देशाईलाई मुख्य प्रशिक्षक नियुक्त गर्ने निर्णय गरेको छ।क्यानले औपचारिक रुपमा घोषणा गरेको छैन। तर, देशाईलाई छनोट गरिएको क्यान स्रोतले जानकारी दिएको खेलपाटीले लेखेको छ। देशाईले सन् २०१७ मा नेपाली यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टिमका ब्याटिङ कन्सल्ट्यान्ट भएका थिए । त्यसभन्दा अगाडी देशाईले सन् २०१५ को आईसीसी टी–२० विश्वकप छनोटका क्रममा राष्ट्रिय क्रिकेट टिमका लागि काम गरेका थिए।

क्यानले मुख्य प्रशिक्षकका लागि अन्तिम चरणमा छनोट भएका ५ प्रशिक्षकको अन्तरवार्ता लिएको थियो। नेपाल टिमका पूर्व प्रशिक्षक डेभ ह्वाटमोर, पूर्व बलिङ सल्लाहकार श्रीलंकाली धम्मिका प्रसाद, बंंगलादेश क्रिकेट टिमका निवर्तमान प्रमुख प्रशिक्षक दक्षिण अफ्रिकी रसेल क्रेग डोमिंगो र न्यूजिल्याण्ड टी–२० टिमका पूर्व प्रमुख प्रशिक्षक ग्लेन पोकनललाई पछि पार्दै देशाई नेपालको प्रशिक्षक बनेका हुन्।

मुख्य प्रशिक्षकका लागि २४ जनाले आवेदन दिएका थिए। मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएपछि नेपाली टोली मुख्य प्रशिक्षकविहीन रहेको छ। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो। तर, सम्झौता अघि नै प्रभाकरले पद छाडेका हुन्। सन् २०१४ देखि नेपाल क्रिकेट टिमको सल्लाहकार भूमिकामा रहेका मोन्टी पछिल्लो तीन वर्ष वेष्ट इण्डिजको ब्याटिङ प्रशिक्षकको जिम्मेवारी पूरा गरेर बसेका छन् । त्यसअघि उनले क्यानडाको प्रमुख प्रशिक्षक तथा युएईको ब्याटिङ प्रशिक्षकको जिम्मेवारी पनि पूरा गरेका छन् ।

स्कटल्याण्डसम्मिलित नेपालमै हुने त्रिकोणात्मक शृंखलाको मिति पनि सार्वजनिक गरिसकेको छ। एकदिवशीय मान्यता पाएका एशोसिएट देशबीचको यो शृंखलामा हरेक टिमले ९ त्रिकोणात्मक शृंखलामा ३६ खेल खेल्नेछन्। नेपालले अहिलेसम्म खेलेका २४ खेलमा ८ जित र १४ हारको नतिजामार्फत १८ अंक जोडेको छ। सात टिमबीचको लिग टूमा नेपाल छैटौं स्थानमा छ। नेपालले अर्को वर्ष भारतमा हुन लागेको एकदिवशीय विश्वकपको ग्लोवल क्वालिफायरमा स्थान बनाउनका लागि शीर्ष तीनभित्र पर्नुपर्छ। जुन लगभग असम्भवजस्तो हुन थालेको छ।

नेपालले सन् २०१८ मा चार वर्षका लागि पाएको एकदिवशीय मान्यता जोगाइराख्न पनि शीर्ष पाँचभित्र पर्नुपर्छ। यसअघिका प्रशिक्षक मनोज प्रभाकरले एकदिवशीय मान्यता जोगाउने गरी टिम तयारी गरिएको बताएका थिए। उनको नेतृत्वमा नेपालले लिग टू अन्तर्गत एउटा शृंखला खेलेको थियो । चारमध्ये नेपालले ३ खेल हारेको थियो। ३२ खेल खेलेको स्कटल्याण्ड ४६ अंकसहित लिग टूको शीर्ष स्थानमा छ । लिग टूका सबै खेल पूरा गरेको ओमानको ४४ अंक छ। ३० खेल खेलेको नामिविया ३७ अंकसहित तेस्रो स्थानमा छ। पूरै ३६ खेलबाट ३५ अंकसहित अमेरिका चौथो र २६ खेलबाट २७ अंकसहित यूएई पाँचौं स्थानमा छन्। शीर्ष तीनभित्र पर्नका लागि नेपालले बाँकी १२ खेल जितेरमात्र पुग्दैन नामिविया र युएईले खेल्ने खेलहरुको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ