जब जीवित शिशुलाई डाक्टरले गरे मृत घोषणा


विराटनगरस्थित कोसी अस्पतालले उपचारका लागि ल्याइएकी १८ दिने शिशुलाई जीवित छँदै मृत घोषणा गरेर घर फर्काइदिएको छ । मोरङको जहदा गाउँपालिका– ३ भाथीगन्जीका दिलीप मुखिया र उनकी पत्नी उमाले श्वासप्रश्वासको समस्या देखिएपछि बुधबार बिहान छोरीलाई कोसीको इमर्जेन्सीमा लगेका थिए । तर, ड्युटीमा रहेका मेडिकल अफिसर डा. आकाश यादवले धड्कन बन्द भइसकेको भन्दै छोरी फिर्ता लैजान भनेपछि अस्पतालमै उनीहरूसहित आफन्तको रुवाबासी चल्यो ।

कोसी अस्पतालले पनि स्विकार्‍यो

अस्पतालका निमित्त मेसु डा. लक्ष्मीनारायण यादव भन्छन्–नवजात शिशुलाई अस्पताल ल्याउँदा मुटुको धड्कन नभएको र सास पनि नचलेको भनेर उपचारमा संलग्न चिकित्सकले भनेका रहेछन् । यसबारे गहन रूपमा बुझ्दै छौँ । गल्ती रहेछ भने अस्पतालले कारबाही गर्छ ।

आफू सम्हालिँदै र बिलौना गरिरहेकी पत्नीलाई सम्झाउँदै दिलीप छोरीलाई लिएर घर फर्किए । घरमा झन् धेरै रुवाबासी चल्न थाल्यो । दाहसंस्कारका लागि तयारी चल्दै गर्दा अकस्मात् शिशुका हातगोडा चलमलाएपछि परिवारले तत्काल विराटनगरकै गोल्डेन अस्पताल पुर्‍यायो जहाँ अहिले दिलीपकी १८ दिने छोरीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

‘छोरी सिकिस्त भएपछि बिहान कोसी अस्पतालको इमर्जेन्सीमा पुर्‍यायौँ । डा. आकाश यादवले हामीलाई छोरीको सास छैन, धड्कन चल्न छाडिसक्यो, घर लैजानु भने । डाक्टरको घोषणापछि आफन्तहरूको पनि रुवाबासी चल्यो । त्यसपछि दाहसंस्कारको तयारी गर्ने योजना बनाएर हामी निराश हुँदै घर फर्कियौँ,’ दिलीपले भने, ‘तर, घर पुगेपछि त छोरीका हातगोडा चलमलाए ।’ त्यसपछि छोरीलाई तत्काल गोल्डेन अस्पताल पुर्‍याएको उनले बताए । सुरुमा सघन उपचार कक्ष (आइसियू)मा उपचार गरिएकोमा पछि भेन्टिलेटरमा सारिएको दिलीपले बताए ।

उमा १७ पुसमा कोसी अस्पतालमै नर्मल सुत्केरी भएकी थिइन् । एक केजी चार सय ग्रामकी छोरी र आमा दुवै स्वस्थ रहेको भन्दै अस्पतालले डिस्चार्ज गरेको थियो । त्यसपछि उमा विराटनगर– ८, मधुमारास्थित माइतीमा बस्दै आएकी थिइन् । तर, बुधबार अचानक छोरीको श्वासप्रश्वासमा समस्या देखिएपछि एम्बुलेन्सचालकसमेत रहेका दिलीपले बिहान आमाछोरीलाई कोसीको आकस्मिक कक्षमा पुर्‍याएका थिए ।

कोसी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले पनि शिशुको मुटुको धड्कन नचलेको भन्दै आकस्मिक कक्षका चिकित्सकले घर लैजान भनेको स्वीकार गरेका छन् । ‘नवजात शिशुलाई अस्पताल ल्याउँदा मुटुको धड्कन नभएको र सास पनि नचलेको भनेर उपचारमा संलग्न चिकित्सकले भनेका रहेछन्,’ उनले भने, ‘यसबारे गहन रूपमा बुझ्दै छौँ । गल्ती रहेछ भने अस्पतालले कानुनअनुसार कारबाही गर्छ ।’

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले उपचारका क्रममा चिकित्सकको त्रुटि भएको भए छानबिन गरेर विभागीय कारबाही गर्न अस्पताललाई निर्देशन दिएको बताए । ‘केही बुझाइको समस्याले गर्दा पनि घटना भएको रहेछ,’ उनले भने, ‘शिशुको उपचार भइरहेको छ । घटना विस्तृतमा बुझ्न निर्देशन दिएको छु । चिकित्सकको त्रुटि भए छानबिन गरेर विभागीय कारबाही गर्न अस्पताललाई निर्देशन भइसकेको छ ।’

मृत घोषणा गर्ने डाक्टरमाथि शिशुका आफन्तको आक्रमण, पक्राउ परेका तीनजनालाई दुई पक्षको सहमतिपछि छाडियो

जीवितै शिशुलाई मृत घोषणा गरेर घर पठाउने डा. यादवविरुद्ध आफन्तले आक्रोश पोखेका छन् । यादवलाई कडा कानुनी कारबाहीको माग गर्दै दिनभर अस्पतालपरिसरमा आन्दोलित उनीहरूले कुटपिटसमेत गरेका छन् । कुटपिटबाट डा. यादव घाइते भएका छन् ।

आक्रमणमा संलग्न मनोज मुखिया, मन्नु मुखिया र अर्का एक नाम नखुलेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएकोमा पछि दुई पक्षको समझदारीमा छाडिएको छ । दुवै पक्ष (अस्पताल र शिशुका परिवार)बाट गल्ती भएको र आइन्दा गल्ती नगर्ने समझदारी भएपछि नियन्त्रणमा लिइएकालाई छाडिएको मोरङ प्रहरीका एसपी शान्तिराज कोइरालाले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ