हङकङबाट नेपाल भित्रिँदै गरेको ३० थान क्रिप्टोकरेन्सी डिभाइस विमानस्थलबाट बरामद

अनुसन्धानका लागि सीआईबीलाई जिम्मा


काठमाडौं– हङकङबाट नेपाल भित्रिँदै गरेको ३० थान क्रिप्टोकरेन्सी डिभाइस बरामद भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले ३० थान क्रिप्टोकरेन्सी डिभाइस बरामद गरेको हो।

हङकङमा खरिद गरेर काठमाडौं भित्र्याउन लागिएको क्रिप्टोकरेन्सीको कारोबार गर्न प्रयोग गरिने ३० थान डिभाइस भन्सार कार्यालयले झण्डै डेढ महिना अघि बरामद गरेको थियो। विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले ३० थान क्रिप्टोकरेन्सी डिभाइस बरामद गरिएको पुष्टि गरे।

उनले भने, ‘सुरुमा हामीले केही शंका लागेर ती डिभाइस बरामद गरेका थियौं। पछि सीआईबीले अनुसन्धान गर्दा क्रिप्टोकरेन्सी कारोबार गर्नका लागि ल्याइएको पुष्टि भयो।’

अनुसन्धानका लागि सीआईबीलाई जिम्मा

झण्डै डेढ महिना अघि पेनड्राइभ जस्ता ३० थान डिभाइस भन्सार जाँच पासका क्रममा भेटिएका थिए। ती डिभाइसको बाहिरि भागमा ‘डिजिटल वालेट’ भनेर लेखिएको थियो।

‘अहिलेसम्म यस्तो डिभाइस नदेखेपछि हामीलाई पनि शंका लागेर खोलेर हेर्‍यौं। त्यसपछि बल्ल क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग हुने डिभाइस भन्ने बुझियो’, विमानस्थल भन्सारका एक अधिकृतले भने।

सानो कार्टुनमा र्‍याप गरेर ल्याइएका ती डिभाइस खोलेर हेर्दा भित्र ब्रोसरमा क्रिप्टोकरेन्सी भन्ने लेखिएको थियो। उक्त ब्रोसरको अध्ययनबाटै ती डिभाइस क्रिप्टोकरेन्सी कारोबारमा प्रयोग हुने भन्ने बुझिएको थियो। त्यसपछि बरामद भएका ३० थान डिभाइसमध्ये स्याम्पलका लागि १ थान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अध्ययन अनुसन्धानका लागि भन्सार कार्यालयले पठाएको थियो।

अनुसन्धानको क्रममा उक्त डिभाइस क्रिप्टोकरेन्सी कारोबार गर्नका लागि काठमाडौं भित्र्याइएको खुलेको सीआईबीका निर्देशक तथा प्रहरी नायब महानिरीक्षक (डीआईजीपी) धिरजप्रताप सिंहले जानकारी दिए।

‘हामीले ती डिभाइसको बारेमा अध्ययन गर्‍यौं। ती डिभाइस क्रिप्टोकरेन्सी कारोबारकै लागि प्रयोग हुने देखियो’, डीआईजी सिंहले भने, ‘ती डिभाइस कम्प्युटरमा जडान गरेपछि क्रिप्टोको कारोबार गर्न सकिन्छ भने त्यो डिभाइस जडान भएपछि क्रिप्टोको कारोबार भएको जानकारी समेत लुकाउन मिल्ने हुँदा रहेछ।’

त्यो डिभाइस कम्प्युटमा पेनड्राइभ जस्तै गरी घुसाएपछि कारोबार गर्न सकिने अनुसन्धानबाट खुलेको छ।

नेपालीमुलका अष्ट्रेलियन नागरिकले पठाएका थिए डिभाइस

उक्त डिभाइस अष्ट्रेलियामा बसेका नेपालीमुलका अष्ट्रेलियन नागरिकले पठाएको खुलेको छ। स्रोतका अनुसार ती डिभाइस नेपालीमुलका अष्ट्रेलियन नागरिकले अनलाइनमार्फत हङकङमा खरिद गरेर नेपालमा पठाएका हुन्।

स्रोतले भन्यो, ‘हामीले ती डिभाइस बरामद गरेपछि नेपालीमुलका अष्ट्रेलियन नागरिक सम्पर्कमै आएनन्। उनी पोखरेल थरका भन्नेसम्म हामीले पत्ता लगाएका छौं।’ सामान बरामद भएको सूचना पाएसँगै ती व्यक्ति सम्पर्कविहीन भएकाले उनीसँग सम्पर्क गरेर थप अनुसन्धान गर्न नसकिएको भन्सार कार्यालयले जानकारी दिएको छ।

अनलाइनमार्फत हङकङमा क्रिप्टोकरेन्सी कारोबार डिभाइस खरिद गरेपछि कार्गोमार्फत डिभाइस नेपाल पठाइएको थियो। डिभाइस नेपाल पठाएपछि नेपालीमुलका अष्ट्रेलियन नागरिकले काठमाडौंमा रहेका उनका एक आफन्त महिलालाई फोटो पठाउँदै सामान लिन जान भनेका थिए।

त्यसपछि ती महिला उक्त डिभाइस लिन भनेर विमानस्थल भन्सार कार्यालय पुगेकी थिइन्। ‘सामान जाँचपास गर्ने बेलामा शंका लागेर हेर्दा क्रिप्टोकरेन्सी डिभाइस देखिएपछि हामीले उक्त सामान दिएनौं। पछि अनुसन्धानबाट समेत पुष्टि भएपछि सामान जफत भएको छ’, प्रमुख भन्सार प्रशासक भट्टराईले भने।

सामान लिन आउने महिलालाई उक्त डिभाइसको बारेमा केही जानकारी नभएको र कारोबार समेत भएको नदेखिएकाले मुद्दा चलाउन नमिल्लने भन्ने सीआईबीको प्रतिवेदनसँगै मुद्दाको प्रक्रिया अघि नबढेको प्रमुख भन्सार प्रशासक भट्टराईले बताए।

नष्ट गर्ने तयारी

नेपालमा क्रिप्टोकरेन्सी कारोबार गैरकानुनी भएपछि उक्त कारोबारका लागि आएको डिभाइस पनि गैरकानुनी हुने भएकाले भन्सार कार्यालयले उक्त डिभाइ नष्टको तयारी गरेको छ। राष्ट्र बैंकदेखि प्रहरीको समन्वयमा उक्त डिभाइस नष्ट गर्ने तयारीमा लागेको भन्सार कार्यालयले जानकारी दिएको छ।

अहिले जफत गरेर शीलबन्द गरिएको र अबको केही दिनमा सरोकारवाला सबैको रोहबरमा नष्ट गर्ने भट्टराईले जानकारी दिए।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ