जेलबाट रेशमलाई छुटाउने अध्यादेशप्रति महामन्त्रीद्धय गगन र विश्वप्रकाशको विरोध


काठमाण्डु-  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेलमा रहेका रेशम चौधरीलाई छुटाउने गरी सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन् ।

सोमबार महामन्त्री थापाले समाजिक सञ्जाल ट्वीटमार्फत चौधरीलाई छुटाउने गरी सरकारले ल्याएको अध्यादेशको विरोध गरेका हुन् । उक्त अध्यादेशकाबारेमा पार्टीभित्र कुनै छलफल नभएको उनको भनाइ छ ।

‘पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै । त्यसैले विगतमा पार्टीको अडान जे थियो आज पनि त्यहि छ । यो अध्यादेश कानूनी, राजनीतिक र नैतिक हिसाबले समेत गलत छ । यो असंवैधानिक र संसदीय व्यवस्थाको मर्म विपरीत छ ।’, थापाले भनेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले सरकारले विद्रोहीहरूलाई आममाफी दिन मिल्ने गरी ल्याइएको अध्यादेश गलत भएको दावी गरे । महामन्त्री शर्माले दलहरूभित्र घतिभूत छलफलसमेत नगरी सरकारले अध्यादेश ल्याएको भन्दै विरोध गरेका हुन् ।

‘सडकमा छँदा जे सत्य, संसदमा पनि त्यही नै सत्य। त्यसैले सार्वजनिक दर्ज होस् असहमति,’ अध्यादेशप्रति लक्षित गर्दै उनले फेसबुकमा लेखेका छन्, ‘संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबीच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत छ।’

उनले प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई अध्यादेश ल्याउनुमा कानूनी र राजनीतिक प्रश्न मात्र नभई यो प्रकरणमा नैतिक प्रश्नसमेत जोडिएको बताए ।

यसैबीच शर्माको भनाइप्रति समर्थन जनाएर ट्वीट गर्दै थापाले यो शर्मा र आफ्नो मात्र नभई पार्टीकै धारणा भएको बताएका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलगायतलाई जेलबाट छुटाउनका लागि मुलुकी फौजदारी संहिता संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ