सिमा पारीबाट ढुंगा उछिट्टिएर नेपालका अबाेध बालकको मृत्यु


दार्चुला — महाकाली नदीपारि भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर दार्चुलाको व्यास गाउँपालिका–२, दुम्लिङका ९ वर्षीय बालकको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा भारतले बिनासूचना विस्फोट गराउँदा हिक्मत महराका छोरा पवनको शुक्रबार ज्यान गएको हो । उनी दुम्लिङस्थित सर्वहित आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत थिए ।

ढुंगा लागेर हिक्मतकी १४ वर्षीया छोरी सरिना घाइते भएकी छन् । खुट्टामा चोट लागेकी उनको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ । व्यास–२ का वडाध्यक्ष धिरेनसिंह बुढाथोकीले बिहान साढे ९ बजेतिर तम्बाकुनजिक थीबाट फर्कने क्रममा पारिबाट आएको ढुंगा लागेर पवनको ज्यान गएको बताए । उनका अनुसार भारतीय पक्षले जानकारी नदिई विस्फोट गराएकाले उक्त घटना भएको हो । टाउकोमा गम्भीर चोट लागेका पवनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले बताए । उनको शव पोस्टमार्टमका लागि शुक्रबार साँझै जिल्ला अस्पताल खलंगा पुर्‍याइएको छ ।

डीएसपी पाण्डेका अनुसार व्यासकै तम्बाकु क्षेत्रबाट बुबा हिक्मतसँगै पवन र सरिना दुम्लिङस्थित घर फर्कंदै थिए ।

दसैंतिहारको बिदामा थी गाउँमा तरकारी लगाउन गएका उनीहरू स्कुल खुल्ने समय भएकाले घर फर्किएका थिए । ‘यसअघि विस्फोट गराउँदा सिटी बजाउँथ्यो, पारि सिटी बजेपछि सबै सचेत हुन्थे, विस्फोट अवधिभर कोही पनि बाटोमा निस्कँदैनथे,’ हिक्मतको भनाइ उद्धृत गर्दै वडाध्यक्ष बुढाथोकीले भने, ‘आज बजाएन । सिटी नबजाएपछि बाटैबाटो घर आउने क्रममा थियौं । त्यही बेला ढुंगा उछिट्टिएर आएर छोराको ज्यान लियो ।’

भारत पिथौरागढ जिल्लाको धारचुलाअन्तर्गत तवाघाट–लिपुलेक सडक खण्डको लखनपुर क्षेत्रमा काम गरिरहेको गर्ग एन्ड गर्ग निर्माण कम्पनीले विस्फोट गराएको थियो । विस्फोटअघि कम्पनीले कुनै सूचना नदिएको हिक्मतको भनाइ छ । ‘सीमा क्षेत्रमा कुनै जानकारी नदिई विस्फोट गराउँदा घटना भएको हो,’ उनले भने ।

अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्‍याउने काम गर्न पाउँदैनन् । विस्फोट गराउनैपर्ने भए विस्फोट अवधिभर प्रभावित क्षेत्रमा मानिसलाई आवतजावतमा रोक लगाउनुपर्छ । त्यसका लागि एकअर्का देशका प्रशासनबीच समन्वय हुनुपर्छ तर शुक्रबार भारतीय पक्षले विस्फोट गराउनुअघि त्यस क्षेत्रका बासिन्दालाई सूचना नै दिएन । दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दीर्घराज उपाध्यायले विस्फोटअघि भारतीय पक्षले सूचना प्रवाह नगरेकै कारण बाटोमा हिँडिरहेका बालकले ज्यान गुमाउनुपरेको बताए ।

‘महाकाली वारि नेपाली सेनाले पनि बाटो खनिरहेको छ, बाटो निर्माणका क्रममा हाम्रो पक्षबाट विस्फोट गराउनुअघि सिटी फुक्ने, माइकिङ गर्नेलगायत सम्भव भएसम्म प्रभावकारी रूपमा सूचना प्रवाह गर्ने गरेका छौं,’ प्रजिअ उपाध्यायले कान्तिपुरसँग भने, ‘भारतीय पक्षले पनि प्रभावकारी सूचना प्रवाह गर्नुपर्ने थियो तर शुक्रबारको विस्फोटमा उनीहरूले सावधानी अपनाएको देखिएन ।’

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सडक निर्माणका क्रममा विस्फोट गर्दा सीमासँग जोडिएको नेपाली पक्षलाई जानकारी नदिएर भारतीय निर्माण पक्षले गम्भीर त्रुटि गरेको बताए । यस विषयमा कूटनीतिक माध्यमबाट सरकारले क्षतिपूर्ति दिलाउन र फेरि यस्तो हुन नदिन पहल गर्ने बताए । पूर्वमन्त्री एवं एमाले पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले पनि लापरबाही गर्ने पक्षलाई कानुनी कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रजिअ उपाध्यायले नेपालको बाटो भारतीय सडकभन्दा निकै तल पर्ने भएकाले पारि निर्माण कार्य हुँदा नेपालको बाटोमा सधैं असर पुग्ने गरेको बताए । गत वर्ष नेपाली सेनाले टिंकर जोड्ने महाकाली लोकमार्गको काम थाल्नुअघि भारतीय पक्षसँग समन्वय गरेको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ