महाकाली अस्पतालमा डायलसिस सेवा सञ्चालनको तयारी


महाकाली अस्पतालमा डायलसिस सेवा सञ्चालनको तयारी

कञ्चनपुर – कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा डायलसिस सेवा सञ्चालनको तयारी भइरहेको छ । अस्पताल प्रशासनले डायलसिस सेवा सञ्चालनका लागि मेसिन खरिद गरेर चार स्टाफ नर्सको लागि विज्ञापन आह्वान गरेको छ ।

सेवा सुचारु गर्न भौतिक संरचना तयार भइसकेको छ भने स्वास्थ्यकर्मीलाई तालिमको तयारी भइरहेको महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिए । “करिब एक करोडको लागतमा मेसिन खरिद गरेर अस्पतालमा पुगिसकेको छ । भौतिक संरचना तयारी अवस्थामा छ”, उनले भने, “चार स्टाफ नर्सको लागि विज्ञापन आह्वान गरेका छौँ । तत्काललाई दुई चरणमा सेवा सञ्चालन गर्ने गरी तयारीमा लागेका छौँ ।”

उनले स्वास्थ्यकर्मीलाई तालिमका लागि पनि समन्वय भइरहेको बताए । “एक महिनाभित्रै सेवा सञ्चालन गर्ने गरी तयारी भइरहेको छ”, उनले भने “केही दिनभित्र इञ्जिनीयर आएर मेसिन जडान गर्ने तयारी छ ।” सुदूरपश्चिम प्रदेश सरकारको ५८ लाख लागतमा भवन निमार्ण भइसकेको छ ।

महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अर्जुन भट्टले बजेट अभावका कारण सेवा सञ्चालनमा आउन केही ढिलाइ भएको बताए । “एक महिनाभित्रै सेवा सञ्चालन गर्ने गरी काम गरिरहेका छौँ ”,उनले भने, “सुरुवातमा दिनमा दुई÷तीन जनाको उपचार गर्छौँ । पछि विस्तारै बढाउँदै लग्छौँ ।” कर्मचारीको तलब र अन्य व्यवस्थापनका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट बजेट निकासा नभए पनि अस्पताल व्यवस्थापन समितिबाट सेवा सुविधा दिने गरी डायलसिस सेवा सञ्चालन ल्याउने तयारी भइरहेको उनले बताए ।

सेवा सुरु भएपछि यहाँका बिरामीले धनगढीलगायत अन्यत्र उपचारका लागि जानुपर्ने बाध्यता हट्ने उनले बताए । हाल कञ्चनपुरबाट सय बढी मृगौलाका बिरामी डायलासिसका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल र सीमावर्ती भारतीय बजार जाने गरेका छन ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ