कार्यकर्तालाई देउवाले भने- बल्ल पार्टी बलियो हुँदैछ, गठबन्धनविरुद्ध नबोल्नुस्


चितवन – प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनलाई टुटाउन षड्यन्त्र भइरहेको बताएका छन् । नेपाली कांग्रेस चितवनद्वारा आज आयोजित ‘जनताको साथमा कांग्रेस अभियान’को समापन एवं विशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनको विरोधमा नबोल्न कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘गठबन्धन कुनै हालतमा टुट्दैन र तोड्नु हुँदैन पनि ।’ गठबन्धन तोड्नु भनेको कांग्रेस पार्टीलाई सिध्याउने षड्यन्त्र भएको जनाउँदै प्रधानमन्त्री देउवाले भने, ‘बल्ल–बल्ल पार्टी बलियो हुँदै छ, यसलाई सिध्याएर के हुन्छ । यसैले गठबन्धनको विरुद्धमा बोल्ने कुरा छैन ।’

उनले गठबन्धन गर्दा पार्टीलाई बढीभन्दा बढी फाइदा हुने गरी लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘गठबन्धनमा बढीभन्दा बढी फाइदा लिन हामी प्रयास गर्छौँ, तर गठबन्धन कुनै हालतमा टुट्दैन, तोड्नुहुँदैन । यसमा ठूलो सहयोग भएको छ । गठबन्धन तोड्ने कुरा गर्नुहुँदैन ।’

गठबन्धनका कारण कांग्रेसले प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्री प्राप्त गर्ने अवसर प्राप्त गरेको जनाउँदै प्रधानमन्त्री देउवाले गठबन्धन भएर धेरै निर्वाचित हुँदै गर्दा त्यो अवसर फेरि पनि प्राप्त हुने बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई एकढिक्का भएर निर्वाचनमा होमिन आग्रह गरे ।

गठबन्धन भएर सरकार बनेकै कारण नेकपा (एमाले)को एकलौटी अन्त्य भएको उनले बताए । उनले भने, ‘उनीहरुको एकलौटी चलेको छैन, मनोपोली चलेको छैन ।’ हिजो बाहिर हुँदा तत्कालीन एमालेको सरकारले गरेको क्रियाकलापको स्मरण गर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै उनले गठबन्धन अघि बढ्दै गर्दा सबै ठाउँमा कांग्रेसको सरकार बन्ने सम्भावना रहेको बताए । प्रम देउवाले भने, “हिजोको अवस्था कस्तो थियो । ओली सरकारलाई हटाउनुप¥यो, हटाउनुप¥यो भनेको होइन सबैले ।’

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ