प्रधानमन्त्रीको क्षेत्रमा भागबण्डा : माओवादी नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने सहमति


काठमाण्डु – प्रधानमन्त्री शेरबहादुर देउवाको क्षेत्रमासमेत गठबन्धन हुने भएको छ । प्रधानमन्त्री देउवा निर्वाचित डडेल्धुराबाट यसपटक माओवादी केन्द्रले उम्मेदवारी नदिने सहमति भइसकेको छ ।

देउवासंग तीन पटक (०६४, ०७० र ०७४) मा लगातार पराजित भएको माओवादी केन्द्रका स्थायी समिति सदस्य समेत रहेका सुदुरपश्चिमइन्चार्ज खगराज भट्ट यसपटक प्रदेशमा चुनाव उठ्ने भएका छन् । यसअघि ०६४ मा थोरै मतले पराजित भएका भट्ट त्यसपछिका चुनावमा भने फराकिलो मतान्तरले पराजित भए । 

माओवादीमा भट्ट भन्दा जुनियरले धेरै लाभको पद हासिल गरे पनि अहिलेसम्म उनले भने कुनै सार्वजनिक पद पाएका छैनन् । उनकी पत्नी मन्जु वम अन्तरिम विद्यायक र भाई विकास भट्ट भने गाउंपालिका अध्यक्ष बनेका थिए । शहीद परिवारका सदस्यसमेत रहेका नेता भट्ट चुनावमा देउवासंग तीन पटक पराजित भएपछि यस पटक प्रदेशको मुख्यमन्त्री नै बन्ने तयारीमा छन् ।

सुरुमा प्रतिनिधिसभाको तयारी गरेका भट्ट संघीय सांसद बने पनि माओवादी अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगर नै मन्त्रीबन्ने अवस्थाहुने भएकाले उनि प्रदेशमा झरेको निकट स्रोत बताउंछ । अहिले सुदूरपश्चिममा मगर र भट्टका अलगअलग गुट सक्रिय छन् ।

माओवादी केन्द्रमा लेखराज भट्टपछि वरियतामा दोस्रो नम्बरमा रहेका उनले वाम गठबन्धन हुंदा समेत देउवासंग ६ हजार ९ सय ४८ मतले हारेका थिए । ०७४ को चुनावमा देउवाले २८ हजार ४४६ र भट्टले २१ हजार ४९८ मत ल्याएका थिए ।  माओवादी केन्द्रको समर्थनमा यसपटक देउवा प्रधानमन्त्री बन्ने छन् । देउवा र भट्टबीच यसपटक भागवण्डा भइसकेको स्रोत बताउँछ ।

प्रधानमन्त्रीले उनलाई सुदुरपश्चिमको मुख्यमन्त्री बनाउने बचन दिइसकेका छन् । भट्टले काठमाण्डुपाटीसंग आफु डडेल्धुराको प्रदेश क बाट निर्वाचनमा उम्मेदवार बन्ने बताए । उनले त्यसका लागि प्रधानमन्त्रीसंग समेत छलफल भइसकेको जानकारी दिए ।

डडेल्धुराको प्रदेश क बाट निर्वाचित एमालेका पठानसिंह बोहरा अहिले प्रदेशको सांसद छन् । उनि यसअघि भौतिकमन्त्री समेत बनेका थिए । प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवार बोहराले १३ हजार ५६३ र कांग्रेसका उम्मेदवार रघुविर भट्टले ११ हजार ३९४ मत ल्याएका थिए ।मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरुबीच तालमेल गर्ने निर्णय भइसकेको छ ।

लेखराज भट्ट एमालेमा प्रवेश गरे सँगै माओवादीको सुदुरपश्चिमको शिर्ष नेता बनेका भट्टलाई व्यवस्थापन गर्न केन्द्रीय नेतृत्वले समेत प्राथमिकतामा राखेको छ ।

डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पहिलो र माओवादी केन्द्र दोस्रो स्थानमा छ । २ नगरपालिका र ५ गाउँपालिका रहेको डडेल्धुरामा ७ स्थानीय तह छन् । त्यसमध्ये कांग्रेस एक्लैले ५ र २ स्थानीय तह माओवादीले जितेको छ । विपि कांग्रेसका नेता कर्णबहादुर मल्लसंग एमालेले तालमेल गरेको भएपनि वडा बाहेक यसपटक एमालेको अवस्था कमजोर बनेको छ । स्थानीय तहको निर्वाचनमा एमालेले सात वटा स्थानीय तह मध्ये एक स्थानीय तहका पनि जित निकाल्न सकेन ।

डडेल्धुरामा देउवाका लागि मल्लचुनौतिका रुपमा देखा परेका छन् । तर, माओवादी केन्द्रका सहयोग पछि भने उनको अवस्था बलियो भएको छ । भट्ट कंचनपुर २ मा चुनाव लड्ने चर्चा चलेपनि अन्तिममा उनि प्रदेशमै लड्ने भएका हुन् ।

भट्टले आफू मुख्यमन्त्री बन्नकै लागि प्रदेशमै उम्मेदवार बन्ने बताए । भट्टले उठने भनिएको कंचनपुर २ मा कांग्रेसका प्रभावशाली नेता एनपी साउंदउम्मेदवार रहेकाले उनको सम्भावना कमजोर भएको हो । अब मंसिर ४ गते हुने प्रदेशसभाको निर्वाचन अन्तर्ग भट्ट डडेल्लधुराको क्षेत्र न. क बाट उठ्ने भएका छन् ।

डडेल्धुराको क्षेत्र न. क अन्तर्गत एक नगरपालिका र दुई गाउँपालिका रहेका छन् । जस अनुसार परशुराम नगरपालिका, आलिताल गाउँपालिका र भागेश्वर गाउँपालिका पर्दछन् । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत परशुराम नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका भरत बडायर जोशी र नगर उप-प्रमुखमा माओवादी की विमला महता निर्वाचित भए । त्यस्तै आलिताल गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएकाे थियाे ।

कांग्रेसका उम्मेदवारलाई हराउँदै अध्यक्ष  शेरसिंह पार्की र उपाध्यक्षमा मैनाकुमारी रावल बोहरा निर्वाचित भएका थिए । त्यस्तै भागेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका हेमराज चटौत र उपाध्यक्षमा पनि काँग्रेसकै पुष्पा ठकुराठी निर्वाचित भएकी छन् । प्रदेशसभाको निर्वाचनमा भट्टलाई नेपाली कांग्रेसले सहयोग गर्ने भएकाले उनको जित पक्का पक्की नै भएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ