कांग्रेसभित्रको किचलोले माओवादी अध्यक्ष दाहाल नै चितवन ३ मा असुरक्षित


काठमाण्डु — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको क्षेत्रमा निर्वाचनमा उम्मेदवार बन्न कांग्रेसका डेढ दर्जन नेताहरु आकांक्षी देखिएका छन् । सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेपनि चितवनमा भने दाहाल यसअघि चुनावमा उम्मेदवार बनेको क्षेत्रमा कांग्रेसभित्र किचलो सुरु भएको हो ।

दाहाल वाम गठबन्धनको उम्मेदवारका रुपमा यसअघि चितवन ३ बाट निर्वाचित भएका थिए । तर, यसपटक भने कांग्रेसकै नेताहरुले उनलाई त्यो क्षेत्र छोड्न र अर्को क्षेत्र रोज्न आग्रह गरेका छन् ।

चितवनको ३ नम्बर निर्वाचन क्षेत्रका स्थानिय समेत रहेका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइराला,टेकप्रसाद गुरुङ र जिल्ला सभापति राजेश्वर खनालले माओवादी अध्यक्ष दाहालले उक्त क्षेत्र छोडेर अर्को क्षेत्रबाट चुनावमा उम्मेदवार बन्नुपर्ने बताएका छन् । ३ वटा निर्वाचन क्षेत्र रहेको चितवनमा १ माओवादी र २ कांग्रेसले लिने गरी छलफल चलिरहेको छ ।

उनिहरुले चितवन ३ यसपटक कांग्रेसलाई नै छोड्नपर्ने नभए दाहाललाई त्यसको असर पर्ने चेतावनी समेत दिएका छन् । चितवनमा गठबन्धनमा रहेका दलहरुले मिलेर जाने निर्णय गरेपनि ३ नम्बर क्षेत्र भने प्रचण्डले छोड्न पर्ने उनिहरुको सुझाव छ ।

दाहालको क्षेत्रमा कांग्रेसबाट कोइराला र गुरुङ मुख्य आकांक्षी छन् । तर, दाहालले भने जापान भ्रमणकै बेला चितवन ३ बाटै चुनाव लड्ने घोषणा गरिसकेका छन् । उनले भनेका थिए ‘म चितवनबाटै लड्छु । मैले एकदम प्रष्टसँग ४–५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन । अहिले चितवनबाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव चड्छु क्लियर हुनुहोला । बरु तपाइहरु जापानमा बस्ने साथीभाइहरुले पनि सहयोग गर्नुहोला भन्ने अपेक्षा छ । ’

०७४ सालमा दाहाल चितवन ३ बाट ४८ हजार २ सय ७६ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी विक्रम पाण्डले ३८ हजार ९ सय ३५ मत ल्याएका थिए । त्यो बेला दाहाल एमालेसहित वाम गठबन्धनको उम्मेदवार थिए भने पाण्डेले कांग्रेसको समर्थन पाएका थिए । अहिले एमालेले पाण्डेलाई समर्थन गर्ने सम्भावना छ भने दाहाललाई कांग्रेसको समर्थन मिल्ने निश्चित भइसकेको छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका दाहालको निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षले पाएकाले मतको आधारमा एमाले पहिलो छ । एमालेले २९ हजार ७७१, कांग्रेसले २९ हजार ३४३, माओवादीले १० हजार ९४०, राप्रपाले ६ हजार १९८ र एकीकृत समाजवादीले ५ हजार ३७ मत पाएको थियो । यो आधारमा समेत प्रचण्डलाई कांग्रेसको सबै भोट नआए निकै जटिल हुने देखिन्छ ।

दाहालकी छोरी रेणु दाहाल कांग्रेसको सहयोगमा भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेकी छन् । उनलाई समेत कांग्रेसको एक पक्षले असहयोग गरेको थियो । तर, चितवन कांग्रेसका नेताहरु भने प्रचण्डले क्षेत्र परिवर्तन नगरे रेणुलाई जस्तो उनलाई सहज नहुने दावी गर्छन् ।

दाहाललाई माडी नगरपालिकामा समेत अफ्ठेरो भएको बताइन्छ । यसअघि माओवादीले जितेको माडी नगरपालिकामा यसपटक एमालेकी ताराकुमारी काजी महतो निर्वाचित भएकी छन् । चितवनमा यसअघि मेयरमा उठेका पूर्व सांसद जगन्नाथ पौडेल, नेता कृष्णप्रसाद सापकोटाको समुहले दाहाललाई सहयोग नगर्ने निश्चित भइसकेको छ । उक्त समुहले दाहालविरुद्ध उम्मेद्वारी दिने निर्णय गरिसकेको छ ।

दाहाललाई कांग्रेसको एक पक्षले असहयोग गर्ने घोषणा गरेपनि गठबन्धन बन्ने भएकाले कांग्रेसका शिर्ष नेताहरु उनलाई जिताउन खट्ने निश्चित छ । त्यो अवस्थामा कांग्रेसभित्रका सबै पक्ष र राज्यशक्ति नै लागेको अवस्थामा भने दाहाललाई निर्वाचन जित्न त्यति असहज भने देखिंदैन ।

दाहाल यसअघि रोल्पा,सिराहा र काठमाण्डौंमा निर्वाचनमा उम्मेदवार बनेका थिए । उनि काठमाण्डौंबाट निर्वाचनमा पराजित भएपछी पछिल्लो समय उनले चितवनलाई नै आफ्नो क्षेत्र बनाएर लागेका छन् । उनी सिन्धुपाल्चोक, सिन्धुली र रुकुमबाट चुनाव उठ्ने चर्चा समेत रहेपनि दाहाल भने यसपटक चितवनबाटै निर्वाचन लड्ने तयारीमा रहेको निकट स्रोत बताउंछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ