बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा


बाजुराको कोल्टी विमानस्थल नाफामा, बैतडी र बझाङ विमानस्थल लाखौँ घाटामा

सुदूरपश्चिम – प्रदेशका तीन पहाडी जिल्ला बझाङ ,बैतडी र बाजुरामा सञ्चालनमा रहेका विमानस्थलमध्ये एउटा नाफामा र दुईवटा घाटामा रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/०७९ मा बाजुराको कोल्टी विमानस्थलले १२ लाख बढी नाफा कमाउँदा बझाङको देवल विमानस्थल र बैतडीको विमानस्थल घाटामा रहेको पाइएको हो।

कोल्टी विमानस्थलले ५० लाख ५६ हजार आम्दानी गरेको छ भने ३८ लाख २१ हजार खर्च गरेको छ।  कोल्टी विमानस्थलको कुल नाफा १२ लाख ३५ हजार रहेको छ।  तर बझाङको देवल विमानस्थल र बैतडीको विमानस्थलले भने घाटा व्यहोरेका छन्। १० लाख ६३ हजार आम्दानी भएको देवल विमानस्थलमा १२ लाख ८ हजार खर्च भएको छ। देवल विमानस्थल १ लाख ४५ हजार घाटामा रहेको जनाइएको छ।

उता, बैतडीको पाटन विमानस्थलले ५५ हजार मात्रै आम्दानी भएको जनाएको छ। ७ लाख ४६ हजार खर्च गरेको छ। विमानस्थल ६ लाख ९१ हजार घाटामा रहेको जनाइएको छ।

हाल नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५३ वटा विमानस्थल छन्। त्रिभुवन विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाहेक ५१ वटा विमानस्थल आन्तरिकरुपमा प्रयोगका लागि स्थापना भएका हुन्। जसमध्ये हाल ३४ वटा सञ्चालनमा छन्।

तीमध्ये तराई र उच्च हिमालीक्षेत्रमा रहेका विमानस्थल मात्रै नाफामा रहेको  नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताए। सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये डडेल्धुराबोहक अरु सबै जिल्लामा विमानस्थल छन् । बाजुराको कोल्टी, कैलालीको गेटा र टीकापुर, कञ्चनपुरको मझगाउँ, अछामको साँफेबगर र कमलबजार, दार्चुलाको गोकुलेश्वर, बझाङको चैनपुर र डोटीको दिपायलमा विमानस्थल छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ