नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर हुनसक्छ : अर्थमन्त्री जनार्दन शर्मा


 

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अहिलेको बजेट उत्पादनमुखी रहेकाले सबै उत्पादनमा जोडिनुपर्ने आवश्यकता रहेको बताएका छन् । मंगलबार भीमदत्त पन्त स्मृति दिवसको कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले सरकारले ल्याएको बजेट कृषि उत्पादनमा केन्द्रित भएको उल्लेख गर्दै उत्पादनको क्षेत्रमा लाग्न सबैलाई आग्रह गरे ।

मन्त्री शर्माले कृषिमा आत्मनिर्भरता र औद्योगिक उत्पादनमार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको बताए । मन्त्री शर्माले हामीसँग भएको श्रम,स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा मात्रै नेपाललाई समउन्नत बनाउन सकिने बताए ।

 

उनले सरकारले किसानको घर खेतमा गएर लगानी गर्ने तथा बजेटमा किसानलाई पेन्सनको व्यवस्था समेत गरेको दाबी गरे । मन्त्री शर्माले भूमिहीनहरुलाई जमिन दिएर, पूँजी नहुनेहरुको लागि पूँजी उपलब्ध गराएर र औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नुपर्ने आवश्यकता रहेको बताए । उनले कृषिमा जोडेमात्रै मुलुकको अर्थतन्त्र सवलिकरण हुनसक्ने बताए ।

उनले भने, ‘किसानको भूमिका महत्वपूर्ण हो । हामीसँग भएको जमीन हो । हामीसँग भएको जमीन, जङ्गल र श्रम हो । यसको एकीकृत परिचालन श्रम, स्रोत र प्रविधिको एकीकृत परिचालनद्वारा आज नेपाललाई समउन्नत गर्न सकिन्छ । उत्पादन बृद्धि गर्ने, आयातमा भर परेको अर्थतन्त्रलाई अहिले आन्तरिक उत्पादनमा आधारमा अर्थतन्त्र सुधार गर्न सकिन्छ भन्ने उदेश्यका साथ अहिलको वर्षको बजेट पास भएको छ । बजेटले किशानका महत्वपूर्ण भूमिकालाई अझ माथि उठाउन प्रयास गरेको छ । लघुवित्तहरुले ऋण दिनुपर्छ भनेर बजेट पास भएको छ । किसानहरुको घर खेतमा गएर लगानी गर्ने विषय अगाडि बढाएको छ । किसानहरुलाई पेन्सनको कुरा बजेटमा आएको छ । देशमा कृषिमा आत्मनिर्भरता र औधोगिक उत्पादन मार्फत आयात प्रतिस्थापन गर्ने बजेटले व्यवस्था गरेको छ ।’

उनेल थपे, ‘आजको राष्ट्रियता भनेको सवल, आत्मनिर्भर अर्थतन्त्र हो । हामी अहिले पनि तरकारी निर्यात गरेर खाएका छौं । आज भूमिहीनहरुलाई जमिन दिएर उत्पादनसँग जोड्नको लागि,पुँजी नहुनेहरुको लागि पूँजी उपलब्ध गराएर उत्पादनमा जोड्नको लागि औजार नहुनेलाई औजार दिएर कृषिमा जोड्नु पर्ने आवश्यकता रहेको छ । यसरी जाँदा मात्रै मुलुकको अर्थतन्त्रलाई सवलिकरण गर्न सकिन्छ । हामीसँग सबै कुरा छ । यअब हामी उत्पादनसँग जोडिनु पर्छ । सबै युवादेखि बृद्धासम्म कृषि क्षेत्रको उत्पादनमा सबैलाई सहभागी गरौँ ।’

उनले फेरि भने, ‘काठमाडौंको लागि चाहिने तरकारी काठमाडौं आसपासको जिल्लाले उत्पादन गरौँ । अब आयात गरेर खाइरहेको कुरालाई अन्त्य गर्नुपर्छ । तरकारीमा ६ महिनामा आत्मनिर्भर हुनसक्छौं । औद्योगिक क्षेत्रमा चार वर्षमा ठूलो प्रगति गर्नसक्छांै । कृषि उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्रमुखी बजेट कार्यान्वयमा चुनौती रहेको छ । सबै मिलेर कार्यान्वयन गर्नुपर्छ ।’

मन्त्री शर्माले सरकारसँग सबैकुरा भएकाले उत्पादनसँग जोडिनुपर्ने बताए । उनले नेपालले तरकारी निर्यात गर्नुपर्ने ठाउँमा आयात गरेको भन्दै किसान संघहरुले उत्पादनमा जोड दिन आग्रह गरे । मन्त्री शर्माले उत्पादनलाई जोड दिएर तरकारी उत्पादन गरे नेपाल ६ महिनामा तरकारीमा आत्मनिर्भर बन्नसक्ने बताए । उनले आयात गरेर खानुपर्ने वस्तुको अन्त्य गर्न आवश्यक रहेको बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ