एमसीसी टेबल गर्ने विषयमा समाजवादीभित्र चर्को मतभेद,महासचिव र प्रवक्ताकै आयो फरक-फरक विज्ञप्ति


काठमाडौँ । एमसीसी सम्झौतालाई अघि बढाउने विषयमा सत्तारुढ नेकपा एकीकृत समाजवादी पार्टीमा बिवाद उत्पन्न भएको छ । एमसीसी संशोधन बिना टेबल गर्न र पारित गर्न नहुने पक्षमा उभिंदै आएको समाजवादी पार्टीको सोमबार बसेको स्थायी समिति बैठकले टेबल गर्न दिने निर्णय गरेको थियो ।

तर, पार्टीको निर्णयपछी भने प्रवक्ता जगन्नाथ खतिवडा र अरु वरिष्ट नेताहरुको भने फरक फरक धारणा सार्वजनिक भएको छ । समाजवादी पार्टीबाट सरकारमा सहभागी सबै मन्त्रीहरु एमसीसीलाई संसदमा टेबल गर्न दिनुपर्ने पक्षमा उभिएको स्रोत बताउंछ ।

एमसीसीको विषयमा नेताहरुका फरक फरक धारणा सार्वजनिक भएसंगै उपमहासचिव समेत रहेका प्रवक्ता खतिवडा समेतले दुई वटा वक्तव्य नै जारी गरेका छन् । जसमा अलग अलग निर्णय भएको विषय समावेश गरिएको छ । त्यसको खण्डन फेरी महासचिव बेदुराम भुसालले गरेका छन् ।

समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकले एमसीसी सम्झौता संशोधन विना नस्वीकार्ने निर्णय भएको बताए । उनले टेबल गर्न दिनेबारेमा पनि कुनै निर्णय नभएको दावी गरे । खनालका अनुसार शनिबार बसेको स्थायी समिति बैठकमा एकमतले एमसीसी नस्वीकार्ने निर्णय भएको छ ।

नेकपा एकीकृत समाजवादीकी मन्त्री समेत रहेकी सचिव रामकुमारी झांक्रीले एमसीसी सम्झौता संसदमा छलफल गर्नका लागि टेबल गर्न दिने निर्णय भएको बताईन । उनले सम्झौता टेबल गर्न दिने बांकी जिम्मा भने सार्वभौम संसदको हुने जानकारी दिइन् ।

समाजवादीका उपमहासचिव समेत रहेका प्रवक्ता खतिवडाले जारी गरेको एउटा विज्ञप्तिमा यथास्थितिमा संशोधन बेगर एमसीसी पारित गर्न नसकिने पूर्ववत पार्टी निर्णयलाई कायम रहेको उल्लेख गरेका छन् । एमसीसीका सन्र्दभमा खुल्ला बहस नगरिकन अगाडि बढाउन नहुने निर्णय भएको उनको विज्ञप्तिमा उल्लेख छ ।

खतिवडाले जनताको भावना, राष्ट्रिय हीत र वैचारिक प्रतिवद्धताको आधारमा एमसीसीको विषयलाई लिइने गरी एमसीसीको विषयमा थप आवश्यक निर्णय गर्न सचिवालयलाई अधिकार दिइएको जनाएका छन् ।

उनले जारी गरेको अर्को विज्ञप्तिमा भनिएको छ ‘संसदको अवरोध हटेर राजनीतिक दलहरुको बीचमा सहमती भएमा सार्वभौम संसदमा टेबल गर्न सकिने कुरालाई सैद्धान्तिक रुपमा स्वीकार गरेको छ । तर संशोधन नभएको एमसीसी कम्प्याक्ट टेवल हुने कुरा औचित्यपूर्ण नहुने र नेकपा एकीकृत समाजवादी जर्बजस्ती गरेर टेबल गर्ने कुराको पक्षमा छैन ।’

समाजवादीमा एमसीसीलाई टेबल गर्ने विषयमा बिवाद बढेसंगै महासचिव बेदुराम भुसालले संसदमा एमसीसी टेबल गर्न सहमति भएको भन्दै विज्ञप्ति जारी गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा बैठकले एमसीसी जस्ताको तस्तै अनुमोदन गर्न नसकिने तर सार्वभौम संसदमा सघन छलफल गर्न भने तयार हुने निर्णय गरेको उल्लेख छ ।

समाजवादीभित्र पुर्व प्रधानमन्त्री समेत रहेका सम्मानित नेता खनाल,उपमहासचिव खतिवडा र नेता विजय पौडेललगायत एमसीसी टेबल नै गर्न नहुने पक्षमा छन् । तर, अध्यक्ष माधव नेपालसहित महासचिव बेदुराम भुसाल र सरकारमा सहभागी मन्त्री भने एमसीसीलाई अगाडी बढाउने पक्षमा देखिएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ