स्थानीय तहको निर्वाचन अघि नै गठबन्धन तोड्न कांग्रेसमा दबाब


काठमाडौँ – नेपाली कांग्रेसभित्र स्थानीय तहको निर्वाचन अघि नै गठबन्धन तोड्न दबाब बढ्दै गएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेका सभापति शेरबहादुर देउवालाई स्थानीय तहको निर्वाचन अघि नै हालको पाँच दलीय गठबन्धन फुटाउन दवाव बढिरहेको हो ।

नेपाली कांग्रेसका शीर्ष नेताहरुले स्थानीय तहको चुनावमा कांग्रेसले कुनै पनि पार्टीसँग गठबन्धन नगर्ने बताउँदै आइरहेका छन् । तर प्रधानमन्त्री देउवा भने यस विषयमा मौन देखिन्छन् । उनले नेपाली कांग्रेस स्थानीय तहको चुनावमा एक्लै भिड्ने वा गठबन्धनसहित जाने भन्ने बारेमा केही बोलेका छैनन् । यता नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालले भने स्थानीय तहको चुनावमा मिलेर जान प्रधानमन्त्री देउवासँग आग्रह गरिरहेका छन् ।

स्रोतका अनुसार यी दुबै अध्यक्षले कांग्रेसले चुनावमा गठबन्धन कायम गरे हाल विवादीत भनेको एमसीसी पास गर्न सहयोग गर्ने समेत देउवासँग प्रस्ताव गरेका छन् । बिहीबार नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र प्रचण्डबीच भेटवार्ता भयो । उक्त भेटवार्तामा प्रचण्डले डा. कोइरालासँग स्थानीय तहको निर्वाचनमा मिलेर जान आग्रह गरे । तर डा. कोइरालाले कांग्रेस, माओवादी वा अरू कुनै पनि दलसँग चुनावमा गठबन्धन गरेर जान नसक्ने स्पष्ट पारेका थिए । कम्यनिष्टहरुले कांग्रेसलाई भाेट नदिने भएकाले पनि चुनावमा गठबन्धन गरेर नजाने उनको भनाइ थियो ।

त्यसैगरी जारी कार्यसम्पादन समिति बैठकको दोस्रो दिन शुक्रबारको बैठकमा औपचारिक रूपमा नै गठबन्धनलाई तोडेर आगामी निर्वाचनमा कांग्रेस एक्लै अघि बढ्नुपर्ने आवाज उठ्यो । उक्त बैठकमा पनि डा. कोइरालाले स्थानीय तहको निर्वाचनमा अप्राकृतिक गठबन्धन छाडेर कांग्रेस एक्लै निर्वाचनको मैदानमा उत्रिनुपर्ने भन्दै कांग्रेसले कांग्रेसलाई रूखमै भोट हाल्न पाउनुपर्ने वातावरण बनाउनुपर्ने बताए ।

उनले भने ‘मैले विगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात् रूख छापमै मतदान गर्न पाउनुपर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु, यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्शविपरीत अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरूको न्यायोचित व्यवस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ । ’

नेपाली कांग्रेसका नेता दिव्यमणी राज भण्डारीले स्थानीय तहको चुनावमा पहिलो हुने गरि आफूहरू तयारी गरिरहेको काठमाण्डुपाटीलाई बताए । उनले स्थानीय तहको चुनावमा जनताको मन जित्ने कार्य गरिरहेको समेत दावी गरे । नेता भण्डारीले काठमाण्डुपाटीसँगको कुराकानीमा भने, ‘ अब अहिले हामीहरु स्थानीय तहको निर्वाचनमा जुटेका छौँ । गाउँ,टोल-टोलमा कसरी जनतालाई सत्य तथ्य कुरा बुझाउन सकिन्छ त्योतर्फ नेपाली कांग्रेस लागेको छ । हाम्रो उदेश्य भनेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो दल बनाउने हो ।’

त्यसैगरी उनले जहाँसम्म नेपाली कांग्रेस स्थानीय तहको चुनावमा गठबन्धन गरेर नजाने बताए । नेता भण्डारीले भने, ‘अब चुनावमा कसरी जाने भन्नेबारे पार्टी भित्र टुंगो लागेको छैन् । जहाँसम्म नेपाली कांग्रेस स्थानीय तहको निर्वाचनमा गठबन्धन लिएर जान्न । अब केन्द्रिय नेताहरुले यसबारेमा के निर्णय गर्छन । हामीले त त्यही निर्णय मान्नुपर्छ ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ