फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट पारित गर्न प्रचण्ड र देउवाले लिखित प्रतिबद्धता जनाएको खुलासा


काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गर्ने प्रतिबद्धता जनाएको खुलासा भएको छ । एमसीसी सम्झौताको विषयलाई लिएर सत्तारुढ दलभित्र बिबाद भइरहेको बेला एमसीसी उपाध्यक्ष फातिमा सुमारले कान्तिपुर दैनिकसंगको अन्र्तवार्तामा दाहाल र देउवाले एमसीसी संसदबाट अनुमोदनको लागी ५ महिनाको समय मागेको खुलासा गरेकी छन् ।

उनले अन्र्तवार्तामा भनेकी छन् ‘प्रधानमन्त्री (देउवा) र अध्यक्ष (दाहाल) ले सेप्टेम्बर २९ (असोज १३) मा पठाएको पत्रमा ४ देखि ५ महिनाभित्रमा एमसीसी सम्झौतालाई अनुमोदन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँहरूको अनुरोधअनुसार ५ महिनाको समयअवधि फेब्रुअरी २८ मा सकिन्छ । हामी उक्त दिनभित्र सम्झौता अनुमोदन भएको हेर्न चाहन्छौं ।’

एमसीसीले शुक्रबार प्रचण्ड र देउवालाई फेरी पत्र समेत पठाएको छ । पत्रमा दुवैले गरेको प्रतिवद्धतालाई सम्मान गर्न आग्रह गरिएको छ । सुमारले दाहाल र देउवाले दिएको म्याद फेब्रुअरी २८ नै भएको बताएकी छन् ।

एमसीसी उपाध्यक्षले फेब्रुअरी २८ भित्र एमसीसी संसदबाट अनुमोदन नभए सम्झौतालाई निरन्तरता दिने वा नदिने निर्णय चैत्र ८ मा बस्ने एमसीसी बोर्ड अफ डाइरेक्टर्सको बैठकले निर्णय लिने बताएकी छन् । उनले एमसीसी संसदबाट पारित गर्ने निर्णय नेपालको कानुन मन्त्रालयले गरेको भन्दै अहिले आएर कुनै पनि बुंदामा संशोधन गर्न सम्भव नभएको बताईन ।

एमसीसी सम्झौताको विषयलाई लिएर सत्तारुढ गठबन्धनमा बिबाद बढेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी संसद बैठकमा सम्झौतालाई अघि बढाउन चाहेका छन् । तर, सत्तारुढ माओवादी केन्द्र र एकीकृत समाजवादी भने त्यसको विरोधमा छ ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी संसदबाट पारित गर्ने प्रतिवद्धता जनाएपनि अहिले कार्यान्वयन गर्न भने मानिरहेका छैनन । सभामुख अग्नी सापकोटाले समेत दलहरुबीच सहमति नभएसम्म टेबुल गर्न नसकिने अडान दिएका छन् ।

प्रधानमन्त्री देउवाले भने सभामुखलाई हटाएर भए पनि सम्झौता संसदबाट पारित गर्ने गरी छलफल अघि बढाएका छन् । त्यसका लागी उनले प्रमुख प्रतिपक्ष दल एमालेसंग संवाद सुरु गरिसकेका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ