मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज भारत जाँदै


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आज भारतको औपचारिक भ्रमणमा जाँदै छन् ।

भारतीय समकक्षी नरेन्द्र मोदीले प्रधानमन्त्रीमा तेस्रो कार्यकालको शपथग्रहण गर्ने समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल दिउँसो नयाँ दिल्ली जान लागेका हुन् । मोदीलाई आज अपराह्न राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मूले शपथ गराउने कार्यक्रम छ ।

प्रधानमन्त्रीका साथ कानूनमन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साल, प्रधानमन्त्रीकी छोरी एवं स्वकीय सचिव गंगा दाहाल तथा परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल बिष्णु गौतमलगायत रहने छन् ।

शपथग्रहण समारोहपछि प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी मोदीबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ ।

भारत सरकारले शपथग्रहण समारोहमा नेपालसहित बंगलादेश, भुटान, श्रीलंका, माल्दिभ्सलगायतका प्रधानमन्त्री तथा राष्ट्रप्रमुखलाई निमन्त्रणा गरेको छ । प्रधानमन्त्री दाहाल सोमबार अपराह्न स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए । सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला पनि सहभागी भएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ