गणतन्त्रको सुदृढ विकासका लागि तेस्रो जनआन्दोलनकाे आवश्यकता

क. प्रचण्डको शुभकामनामा उल्लेख गरीएको "गणतन्त्र" राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली बनाउने बिषय यतिबेला अहम कार्यभारका रूपमा देखापरेको छ ।


वरिष्ठ बामपन्थी नेता लोककृष्ण भट्राई लगायत केहि साथीसँगको चिया भेटका अवसरमा एकजना पुर्व प्रहरी अधिकृतले भने ‘देश झन बर्बाद् हुने भो, नेताहरुले ईगोको कुरा छोडेर देशको आजको आवश्यकतामा मिलेर देश बनाउने छनक देखाएनन् । जनतालाई निराशा थपेका छन ।’ उनले कृष्ण सेनको शालीन क्रान्तिकारीताको समरण गराए, असारे काका, दिनेश शर्मा र बिष्णुपुकार श्रोष्ठहरुको सुरुको एकान्तबास स्मरण गराए । शहिदहरुको बलिदानी सम्झाए’ पछि मैले बुझेँ, उनले कडा यातनामा राखेका नेताहरुको स्थिती सार्वजनिक गर्न ठूलो रिस्क मोलेका रहेछन र बंशले शासन चलाउने परम्परा उनलाई मन नपरेका कारण तत्कालीन माओवादी क्रान्तिकारीसँग उनको ठूलो आशा पनि रहेछ ।

घरमा फर्केर संजाल के हेरको थिएँ, लोकतन्त्रको खानदानी नै ठानिएका अग्रज ब्यक्तित्व आदरणिय खेम शर्मा पौडेलले लेख्नु भएछ ‘गणतन्त्र उत्तर कोरियामा छ, पाकिस्तानमा छ, चिनमा छ, भारतमा छ, अमेरिकामा छ र अहिले नेपालमा पनि छ । आश्चर्य दुनियामा गणतन्त्र भएका ९० प्रतिशत देशहरू हरिकंगाल छ्न भने सक्रिय वा वैधानिक राजतन्त्र भएका ९० प्रतिशत देशहरू संपन्न छ्न ।’ उहाँको यो टिप्पणी गणतन्त्रले देशको समृद्धि नगरेकोमा आक्रोशित होला भन्ने सम्म मात्र सिमीत रहनुपर्ने तर सामान्तवाद र पंचायत बिरुद्ध लडेको उहाको सिंगो परीवार र उहाँसमेतले राजतन्त्र र पंचायतका तमाम बिकृति बिर्सेर गणतन्त्र ब्यबस्था नै जाओस भन्ने कामना चाहि अस्वभाविक नै हो । अमूक परिवारमा जन्मेकै कारण राजा बन्न पाउने जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तको अन्त्य गरी जुनसुकै परिवारमा जन्मे पनि सर्वसाधारण जनताका छोरा वा छोरी राष्ट्रप्रमुख बन्न पाउने व्यवस्था हो, ‘गणतन्त्र’ भन्ने कुरा खेम सरलाई हेक्का रहोस भन्ने आग्रह पनि छ ।

हो, गणतन्त्रले गास, बास र कपासको हल गर्न सकेको छैन। सामाजिक न्याय प्राप्त हुन सकेको छैन। दुईवटा पासपोर्ट र नागरिकताधारीहरुको बिगबिगी आँखाले हेर्न नसकिने खालको छ। पार्टी, सत्ता, गुट, उपगुट र कथित किचेनधारीहरुको नाममा एकलौटी अभ्यास नांगो रुपमा बढदो छ । भ्रष्टाचार, बेथीती र अराजकता चर्को छ । प्रधानमन्त्रीले पटक पटक बिश्वासको मत लिईरहनुपर्ने बाध्यताका बिच प्रणाली नै बिघटन गराउन उद्धत केहि गिरोह सल्बलाईरहेका पनि छन । पछिल्लो आर्थिक संकटले मानिसको मष्तिष्कमा नकरात्मक तरंग प्रवाह गरेको छ । तर हामी यस्तो अवस्था किन आईपयो भन्ने कुरा सहि रुपमा संप्रेषण गर्न सकेका छैनौ ।

२०६५ मा मुलुकमा गणतन्त्रको स्थापना भएको ७ बर्षमै विनाशकारी भुकम्पले देश थला पायो । मुलुकले पुनर्निर्माणमा खरबौँ खरब रुपैयाँ, समय र जनशक्ति खर्चन बाध्य भयो । यहि बिचमा छिमेकीको नाकाबन्दि सहन गर्न पर्यो । यसलगतै विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ले स्वास्थ्य, शिक्षा, अर्थतन्त्र लगायत सबै क्षेत्र सिथिल र रुग्ण बनायो । कोरोना पश्चात देखिएको आर्थिक मन्दीले मुलुकको अर्थतन्त्र निकै जीर्ण र थिलोथिलो बनाइरहेको छ। आर्थिक गतिविधि ठप्प जस्तै भएको छ । गाउ खाली छन् । मलामीको भार शिक्षकमाथी छ। शहरमा सटर खालीको बिज्ञापन र पसलबन्दका दृश्यले स्तब्धता बढाउदै लगेको छ । यस्ता तिता सत्य पनि स्विकार्नै पर्दछ ।

यसका बिचमा पनि संबिधानसभाबाट संबिधान बनेर देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशिता सस्थागत हुदैछन । राष्ट्यि गौरव र महत्वका बिकास परीयोजनाहरु अघि बढिरहेका छन् । सडक तथा भौतिक पुर्वाधारको बिकास उल्लेखनिय बढेका छन । तथापी राजनीतिको दाउपेचमा नचाहिदा ठाउमा बिकासका परीयोजना थोपर्ने र आवश्यक ठाउमा नपुगेका पनि छन ।

महान जनयुद्ध र त्यसले बनाएको वातावरणमा आधारीत दोस्रो जनआन्दोलनको मकसद ब्यबस्था परीवर्तनमा मात्रै सिमीत थिएन । क प्रचण्डलाई यो कुरा राम्रैसंग थाहा भएकोले उहाले जीवनपद्धतिको भाव संप्रेषण गनु भएको हो । गणतन्त्र सामान्ती बन्न नदिन, ब्यक्तिवादी र परीवारवादी संयन्त्रमा कैद हुन नदिन अझै लडाई बाकी छ । ब्यबस्था नै भ्रष्ट हो भनेर समाजवादको यात्रा अवरुद्ध पार्न खोज्नेहरुसंगको टकराव उस्तै छ । अहिलको गणतन्त्रमा नया राजाहरु हुनै नसक्ने सुनिश्चितता गर्न लडाई फेरी पनि लड्न जरुरी छ ।

राजनीतिमा वैचारिक अराजकता, सिद्धान्तहीनता तथा प्रशासनमा अनियमितता अनुशासनहीनता, भ्रष्टाचार कुरुपताका साथ देखा परेका छन । एकातिर संकट र महामारीका विकृतिहरुलाई गणतन्त्रको विकृति भन्ने दुष्प्रचार गर्दै गणतन्त्र विरोधी रोटी सेक्नेहरुलाई ठाउ मिलेको छ भने अर्कातिर जो पावरमा वा कुर्सीमा पुग्छ, उसले म नै राज्य हुँ, म नै अहिलेको राजा हुँ भन्ने दंभ र अहंकार प्रदर्शन गरेको छ र श्रोत साधनहरु सामुहिक हितका लागी नभएर सात पुस्ताको शासन थोपर्ने संकेत बढाउदै लगेको छ । शायद यहि र यस्तै बिकृतिले होला, जनयुद्धका एक योद्धा कमरेड प्रकाशचन्द्र पाण्डेले गणतन्त्र ल्याउन जीवन उत्सर्ग गर्नुहुने महान शहिदहरुप्रति हार्दिक श्रद्धासुमन ब्यक्त गर्दै लेखेका छन् ‘नयाँ राजाहरुको भष्म खरानी होस । हामी भरिया मजदुर, किसानले पनि यो गणतन्त्रको अनुभुती गर्न पाईयोस ।’

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै ‘समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको बताएका छन । ‘१७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ । यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ र एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ” उनले शुभकामनामा लखेका छन । उनले गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तरमाथि उठाउनु रहेकाले त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवद्र्धन एवं सुशासन कायम गर्नुपर्ने बताएका छन ।’

यसैगरी प्रधानमन्त्री प्रचण्डले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली समेत भएको बताउदै गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि भएको स्मरण गराएका छन । नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि दिशानिर्देश गरेको बताउदै प्रचण्डले संविधानसभाबाट जारी संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको कुरा शुभकामनामा उल्लेख गरेका छन् । क. प्रचण्डको शुभकामनामा उल्लेख गरीएको ‘गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली’ बनाउने बिषय यतिबेला अहम कार्यभारका रुपमा देखा परेको छ ।

आज राजनितीमा बढेको अवसरवादले सबै अपराध ढाकछोप गर्ने अवस्थाको वरपर ल्याएको छ । अवसरका लागि अस्थिर होईन, लक्ष्यका लागि दृढ रहौ भन्ने मान्यता लत्तीएको जस्तो छ । पैसा,सत्ता र अहंकार क्षणिक हुन । निष्ठामा बाच्नु सबैभन्दा धनी हुनु हो । सत्तालाई विवेकी बनाउनु सभ्यतामा योगदान पुर्याउनु हो । अहंकार त्यागेर धैर्यताको पदचाप फलो गरौ । जनसेवामा जोड र स्वत्वको रक्षागर्ने कार्यनीतिमा जोड नभएको कारण ठगहरुको खुट्टामा लम्पसार पर्न बाध्य बिषयमा गम्भीर समिक्षा गरौ भन्ने आवाज र सुझाव सार्वजनिक ढंगले देखापरेका छन । बिकृतिहरुकै कारण आएका यस्ता बाध्यता तोडन गणतन्त्रका बहुआयामहरु स्थापति गर्न गर्नैपर्दछ । यसका लागी नया प्रकारको शसक्त आन्दोलनको उठानबारे पनि तयारी हुन जरुरी छ ।

 

क प्रचण्डले भने झै ब्यबस्था जीवनशैलीमा बदल्नै पर्दछ तर आज सत्य, न्याय र विवेक हराएको अवस्थामा सत्य अन्वेषण कठिन काम हुन पुगेको छ । जस्लाई जे गरे पनि हुन्छ भनेर मैमत्त भएका अस्वभाविक महत्वाकांक्षी मानिसलाई मानवसभ्यताको प्रगतिवाद नै शत्रु जस्तै हुन पुगेको छ । सत्य कुरा पचाउन त के सुन्न मात्र पनि अहंकारका अस्विकार्यता बढेका छन । वास्तविक धरातल र नौटकी उजागर हुँदासाथ सबैको असलियत उदाङ्रगाे हुन्छ भन्ने कुरा मनन गर्न खोजिएको छैन । यो तरीकाले जनआकर्षण बढाउन नसकिने कुरा महशुस पनि हुन सकेको छैन ।

हो, निश्चय पनि झरेको पातको तितो अनुभव गर्नेलाई नै बसन्तको उल्लास ग्रहणको हक हुन्छ । जसले यति परीवर्तन गरायो, उसैलाई मात्रै जोगाउने चिन्ता हुन्छ । महान जनयुद्ध र त्यसले बनाएको वातावरणमा आधारीत दोस्रो जनआन्दोलनको उद्देश्य ब्यबस्था परीवर्तनमा मात्रै सिमीत थिएन । क प्रचण्डलाई यो कुरा राम्रैसंग थाहा भएकोले उहाले जीवनपद्धतिको भाव संप्रेषण गनु भएको हो । गणतन्त्र सामान्ती बन्न नदिन, ब्यक्तिवादी र परीवारवादी संयन्त्रमा कैद हुन नदिन अझै लडाई बाँकी छ । ब्यबस्था नै भ्रष्ट हो भनेर समाजवादको यात्रा अवरुद्ध पार्न खोज्नेहरुसंगको टकराव उस्तै छ । अहिलको गणतन्त्रमा नया राजाहरु हुनै नसक्ने सुनिश्चितता गर्न लडाई फेरी पनि लड्न जरुरी छ । सामान्ती गणतन्त्रतर्फ धकेल्दै लगेर प्रतिगमन फर्काउने तत्वसंगको लडाईमा जित्न ब्यबहारमै समाजवादी चरीत्र निर्माणको टडकारो छ । यसैलाई एजेण्डा बनाएर अघि बढने पर्ने स्थिति देखापरेको छ । गणतन्त्रको जनपक्षीय बिकासका लागी तेस्रो जनआन्दोलनको आवश्यकताप्रति पनि स्टाण्डबाई जरुरी छ । शहिद परीवार तथा जनयुद्धकी योद्धा मीना न्यौपानेले भनेजस्तै ‘कुनै दले नेताहरुलाई चाहिएर ल्याएको गणतन्त्र होईन आम उत्पीडितहरुको गौरवपूर्ण इतिहास हो, रक्षा गरौं ।  गणतन्त्र दिवस जिन्दावाद’ ।

लेखक: निलकण्ठ तिवारी



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ