जटिल माेडमा नाउपाकाे विवाद


काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले संरक्षक रेशम चौधरीले आफूहरूलाई ज्यान मार्ने धम्की आएको खुलासा गरेका छन् ।

पत्रकार सम्मेलन गरेर उनले काठमाण्डुमा पार्टीका संस्थापक केन्द्रीय सदस्यहरूको बैठक सुरु हुनुअघि आफूमाथि कुटपिट भएको र हत्या गर्ने धम्की दिएको बताए ।

पार्टीका संरक्षक रेशम चौधरीले बालुवाटारमा प्रधानमन्त्री भेट्न जान्छु भन्दा पार्टी कार्यालयमा भौतिक आक्रमण गरेको उनले बताए । पार्टी कार्यालयभित्रै आफूमाथि कुटपिट हुनु र ज्यान मार्ने धम्की आउनुले असुरक्षा बढेको उनले बताए ।

सुदूरपश्चिम सरकार ढल्यो भने हत्या हुनसक्ने चेतावनी आएको अवस्थामा पार्टीका कुनै पनि नेताहरूको केही घटनामा मृत्यु भए सबै दोष रेशम चौधरीको हुने उनको आरोप छ ।

उनले भने, ‘यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुनसक्छ भनेको हुनाले र आज ममाथि भौतिक आक्रमण भएकाले मैले यसलाई सामान्य लिएको छैन ।’

सुरक्षालाई ध्यान दिनका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई पनि उनले अनुरोध गरे । आफूहरूमाथि आक्रमण हुँदा पार्टी कार्यालयमा अध्यक्ष रञ्जीता चौधरी नरहेको र घटना भएको करीब आधा घण्टामा आएकी अध्यक्षलाई सबै जानकारी गराएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ