देशैभर उपनिर्वाचन गर्ने तयारीमा जुट्यो निर्वाचन आयोग


काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचन गरेर निर्वाचन परिणाम दिइसकेको निर्वाचन आयोगले देशैभर रिक्त रहेका स्थानमा उपनिर्वाचनको तयारी थालेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया सहितको टोलीले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज आईतबार उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गरेका छन् ।

प्रमुख आयुक्त थपलियाले सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन र अब गर्नुपर्ने उपनिर्वाचनका विषयमा छलफल गरेका छन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य र रिक्त स्थानीय तहको उपनिर्वाचनका लागि आयोगले सरकारसँग परामर्श गर्ने संवैधानिक व्यवस्था छ ।

आयोगले यसअघि आगामी वैशाखभित्र उपनिर्वाचन गर्न सक्ने भन्दै सरकारलाई सुझाव दिएको छ ।

रिक्त रहेका पदमा आयोगले उपनिर्वाचन गराउन लागेको छ । निर्वाचन आयोगका अनुसार हाल प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा १/१ पद रिक्त छन् । इलाम निर्वाचन क्षेत्र २ बाट निर्वाचित नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो भने सुदूरपश्चिम प्रदेश बझाङ निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा परी निधन भएका दुवै क्षेत्र रिक्त छन् ।

हाल प्रतिनिधिसभा सदस्यमा १, प्रदेशसभा सदस्यमा १, जिल्ला समन्वय समिति प्रमुखमा २, नगर उपप्रमुखमा १, गाउँपालिका अध्यक्षमा १, गाउँपालिका उपाध्यक्षमा २ र विभिन्न पालिकाका १७ वडाध्यक्ष गरी २५ पद रिक्त छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ