गुल्सनको शतकमा स्कटल्यान्डमाथि सानदार जित


गुल्सन झाको एक सय १४ रनको मद्दतमा नेपाली यू–१९ क्रिकेट टिमले अभ्यास खेलमा स्कटल्यान्डमाथि सानदार जित दर्ज गरेको छ । नेपालले स्कटल्यान्डमाथि एक सय ३५ रनले जित निकाल्यो ।

१९ जनवरीदेखि ११ फेब्रुअरीसम्म दक्षिण अफ्रिकामा हुने विश्वकप प्रतियोगितामा भाग लिन नेपाल दक्षिण अफ्रिका पुगेको छ । यही क्रममा नेपालले स्कटल्यान्डसँग अभ्यास म्याच खेलेको हो ।

नेपालको जितमा गुल्सनको महत्वपूर्ण योगदान रह्यो । उनले एक सय १५ बलमा बनाएको एक सय १४ रनको मद्दतमा नेपालले स्कटल्यान्डलाई दुई सय ८५ रनको लक्ष्य दिएको थियो । गुल्सनपछि दीपक बोहराले ५४ बलमा ५८ रनको योगदान दिए ।

दुई सय ८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३.२ ओभरमै एक सय ४९ रनमा अलआउट हुन पुग्यो । स्कटल्यान्डलाई अलआउट गर्ने क्रममा तिलकराज भण्डारीले तीन तथा आकाश चन्दले दुई विकेट लिए । स्कटल्यान्डको तर्फबाट उजैर अहमदले सबैभन्दा धेरै २८ रन बनाए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ