अब जिल्ला प्रशासनबाटै उमेर, नाम र जात सच्याउन पाइने


धनगढीः जिल्ला प्रशासन कार्यालयबाट उमेर नाम र जात सच्याउन पाइने भएको छ। उमेर, नाम र थर सच्याउन पाइने भएपछि नागरिकताअनुसार शैक्षिक योग्यताका प्रमाणपत्रमा व्यक्तिको उमेर, नाम र जात सच्याउन मिल्ने भएको हो।

सरकारले यस्तो व्यवस्था लागु गरेपछि कतिपयको नागरिकता र प्रमाणपत्र फरकफरक उमेर, नाम र थर हुँदा भोग्नुपरेको समस्या हल हुने भएको छ। नागरिकता र प्रमाणपत्र फरक परेको उमेर, नाम र थर सच्याउन प्रमाणपत्र पाएको मितिले पाँच वर्षभित्र निवेदन दिनुपर्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उमेर, नाम र जात सच्याउने नियमहरू, २०१७ अनुसार नागरिकता र प्रमाणपत्रमा फरकफरक जन्म मिति, नाम वा जात भएकाहरूले जन्म मिति, नाम र जात सच्याउन पाइने भएको हो। कुनै पनि व्यक्तिले हासिल गरेको शैक्षिक प्रमाणपत्रमा नागरिकताअनुसार उमेर नाम र जात सच्याउन चाहेमा सम्बन्धित स्थानीय तह, विद्यालय र शिक्षा समन्वय ईकाइको सिफारिससहित प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनुपर्नेछ।

नागरिकतामा भएको उमेर, नाम र जातकै आधारमा शैक्षिक योग्यताको प्रमाणपत्र पनि सच्याउन पाइने छ सूचना अधिकारी जोशीले बताए। कुनै पनि व्यक्तिले प्रमाणपत्र पाएको मितिले पाँच वर्षभित्र जन्म मिति, नाम र जात सच्याउन जिल्ला प्रशासन कार्यालयमा दरखास्त दिनुपर्नेछ।

५ वर्षभन्दा अघि प्रमाणपत्र पाएका व्यक्तिहरूले आफ्नो नाम, जात वा उमेर सच्याउन चाहेमा संशोधन नियम नेपाल राजपत्रमा प्रकाशित भएको मितिले दुई वर्षभित्र सच्याउन दरखास्त दिन सक्नेछन्। सरकारले पछिल्लो पटक २०८० भदौ १८ मा उमेर, नाम र जात सच्याउने नियमहरू, २०१७ संशोधन गरेको छ। नागरिकता र प्रमाणपत्र पाएको पाँच वर्षभन्दा बढी समय भएको व्यक्तिले २०८० भदौ १८ देखि दुई वर्षभित्र नागरिकताअनुसार प्रमाणपत्रमा उमेर, नाम र जात सच्याउन प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिन सक्नेछन्।

कुनै विद्यार्थीले प्रमाणपत्र लिइसकेपछि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नागरिकता सम्बन्धी प्रचलित कानून बमोजिम नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाह्रको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन चाहेमा एक पटकको लागि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा विवरण सच्याएको एक वर्षभित्र दरखास्त दिन सकिने छ।

तर, कुनै विद्यार्थीले यो उपनियम प्रारम्भ हुनुअघि नेपाली नागरिकताको प्रमाणपत्र लिएको वा नेपाली नागरिकताको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर संशोधन गराएकोमा सो बमोजिम एसएलसी, एसइई वा कक्षा बाहको प्रमाणपत्रमा आफ्नो वा बाबु आमाको नाम वा थर वा नामथर सच्याउन एक पटकको लागि यो उपनियम प्रारम्भ भएको एक वर्ष भित्र अर्थात् २०८१ भदौ १८ भित्र  दरखास्त दिन सकिने  सूचना अधिकारी जोशीले बताए।

उमेर, नाम र जात सच्याउने नियम्हरू, २०१७ गत भदौमा संशोधन भएपछि कैलाली जिल्लावाट कार्तिकमा १२, मंसिरमा ३० र पुस २२ गतेसम्म २६ जनाले उमेर, नाम र जात सच्याउन निवेदन पेश गरेका छन्। जिल्ला प्रशासन कार्यालयमा परेका ६८ जनाको निर्णय पर्चासहित संशोधनको लागि सम्वन्धित निकायमा पठाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ