राष्ट्रिय सभा निर्वाचन : तीन पदका लागि सुदूरपश्चिमबाट ६ जनाकाे उम्मेदवारी


कैलाली : राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिमबाट ६ जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट २ र नेकपा माओबादीबाट १ जनाले उम्मेदवारी दिएका हुन् भने नेकपा एमालेबाट ३ जनाले उम्मेदवारी दिएका छन । नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टलाई नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्य पदको उम्मेदवार बनाएको छ । उनी कैलालीको धनगढी–उपमहानगरपालिका–१२ का बासिन्दा हुन् । उनी नेपाली कांग्रेस कैलालीको सभापति हुन ।

नेपाली कांग्रेस अर्को उमेदवार कञ्चनपुरका नेता बलदेव बोहरा बेदकोट नगरपालिका– ७ का स्थानीय हुन् । उनको पुर्ख्यौली घर डडेल्धुरा हो । उनी संविधान सभामा समानुपातिक सांसद पनि भइसकेका छन् । नेकपा (माओवादी केन्द्र) बाट सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दले उम्मेदवारी दर्ता गरेकी छन् । उनी बैतडीको दशरथ नगरपालिका–९ ग्वालेककी हुन् । उनी २०६४ सालको संविधान सभामा समानुपातिक तर्फ सभासद थिइन् ।

सुदूरपश्चिम प्रदेशमा रिक्त हुन लागेका तीनै सिटमा एमालेले उम्मेदवारी दर्ता गरेको छ । महिलातर्फ कैलालीकी सावित्रा घिमिरे, अपाङ्गता र अल्पसंख्यक तर्फ कैलालीकै रामचन्द्र जोशी र अन्य क्लस्टरबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेलले उम्मेदवारी दर्ता गरेका हुन् । महिला क्लस्टरबाट उम्मेदवारी दिएकी सावित्रा कैलालीको गोदावरी नगरपालिका–१ की हुन् । अपाङ्गतातर्फ कैलालीको धनगढी उपमहानगरपालिका–५ का रामचन्द्र जोशीले उम्मेदवारी दर्ता गरेका छन् । उनी अहिले ह्विलचेयरको सहायताले हिँडडुल गर्छन् ।

भीमदत्त नगरपालिका– १८ विष्णुटोलका ईश्वरीप्रसाद खरेल सुदूरपश्चिम प्रदेशको अन्य कोटाबाट उम्मेदवारी दिएका छन् । उनी पार्टीको केन्द्रीय लेखा आयोगको सचिवालय सदस्य समेत रहेकी छिन । माघ ११ गते हुने निर्वाचनका लागि सोमबार दलहरूले उम्मेदवारी दर्ता गराएका हुन ।

१९ रिक्त पदका लागि हुने राष्ट्रिय सभा निर्वाचनको लागि देशभरबाट ५२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले यस निर्वाचनमा उम्मेदवारी दिएका छन् ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ