प्रादेशिक अस्पताल सेतीमा निरन्तर सेवा विस्तार


धनगढी – कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले सेवा विस्तारमा फड्को मार्न थालेको छ।

सुदूरपश्चिम प्रदेशको एकमात्र रेफरल अस्पतालका रुपमा रहेको अस्पतालले पछिल्लो समय सेवा विस्तारसँगै सेवा प्रवाहमा सुधार ल्याएको हो। देश सङ्घीयतामा गएसँगै अञ्चल अस्पतालबाट प्रादेशिक अस्पताल बनेको यस अस्पतालले विभिन्न उपकरण थपेको छ। सरकारी अस्पतालमा सिटीस्क्यान मेसिन नहुँदा बिरामीले निजी अस्पतालमा चर्को शुल्क तिरेर सिटीस्क्यान गर्नुपर्ने बाध्यता थियो।

अस्पतालले सिटीस्क्यान मेसिन खरिद गरेर गत वर्षदेखि सेवा सुरु गरेसँगै चर्को शुल्क तिरेर निजी अस्पतालमा सिटीस्क्यान गर्नुपर्ने बिरामीको बाध्यता हटेको छ। ‘हामीले गत वर्षदेखि सिटीस्क्यान सेवा सुरु गरेका हौँ’, सेती प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले भने, ‘यसबाट धेरै बिरामी लाभान्वित भएका छन्। शुल्क पनि बाहिरभन्दा यहाँ ३० देखि ४० प्रतिशत कम छ।’

सिटीस्क्यानका लागि दैनिक २० देखि २५ जना बिरामी आउने गरेको अस्पतालले जनाएको छ। हालै मात्रै अस्पतालले एमआरआई मेसिन खरिद गरेर ल्याएको छ। यसअघि एमआरआई सेवा नहुँदा यस क्षेत्रका बिरामीले समस्या भोग्दै आएका थिए। एमआरआई केही हप्तामा सेवा सुरु हुने उनले बताए। यसले स्नायु, मेरुदण्ड, हाडजोर्नी, टाउकोलगायत शरीरका विभिन्न नसाको अवस्था पत्ता लगाउन सजिलो हुन्छ।

अस्पतालमा २० शय्याको डायलासिस सेवा पनि सञ्चालनमा छ। विगतमा १५ शय्याबाट सेवा दिँदै आएकामा हाल विस्तार गरेर २० शय्या पु¥याइएको उनले बताए। सरकारीतर्फ ५० र विकास समितितर्फ ७५ गरी एक सय २५ शय्याको स्वीकृति रहेको अस्पतालमा हाल तीन सय शय्या सञ्चालनमा छ। भीडभाड कम गर्न टिकट काउन्टर व्यवस्थितसँगै विस्तार गरिएको छ। अल्ट्रासाउण्ड गर्न दुई/तीन दिन कुर्नुपर्ने अवस्था अहिले नभएको अस्पतालको दाबी छ।

त्यस्तै आकस्मिक सेवाको चापलाई कम गर्न १५ शय्याको ‘अब्जरभेशन वार्ड’ बनाएको उनले बताए। आगोले जलेको उपचार गर्न चार शय्याको ‘बर्न वार्ड’ पनि व्यवस्था गरिएको अस्पतालले जनाएको छ। क्यान्सर र मानसिक रोगसम्बन्धी उपचार सेवा थप्ने योजनामा रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर शाहले बताए। –रासस



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ