प्रधानन्यायाधीशका भाईविरुद्ध अवैध स्रोतको आम्दानीबाट सम्पती जोडेको भन्दै उजुरी दर्ता


काठमाडौं । अभियन्ता डा गोविन्द केसीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका भाइ प्रभु शमशेर राणाबिरुद्ध उजुरी दर्ता गरेका छन् । गैरकानुनी असुली र अवैध स्रोतको आम्दानीबाट सम्पती जोडेको भन्दै प्रभुविरुद्ध केसीले सम्पति शुद्धीकरण अनुसन्धान विभागमा छानविनका लागी पुरक उजुरी दिएका हुन ।

प्रधानन्यायाधीश राणाका भाई प्रभुले दुई वर्ष यता ३० करोडभन्दा बढीको घरजग्गाहरु जोडेको केसीले दिएको उजुरीमा उल्लेख छ । राणाले काठमाडौं महानगरपालिका–२९ ठमेलको कित्ता नम्बर १०८५ को ८ आना जग्गासहित घर २०७६ मंसिर २० मा खरिद भएको देखिएको छ । त्यसका साथै काठमाडौंको गोठाटार–८ को कित्ता नम्बर १२४, कित्ता नम्बर ३३ को साढे ३ रोपनी जग्गा समेत जोडिएको उनको निवेदनमा दावी गरिएको छ ।

प्रभुमाथी दाईको नाममा विचौलियाको काम गरेर पैसा असुली गरेको आरोप छ । केसीले यसअघि नै उनले गैरकानुनी रुपमा सम्पती आर्जन गरेको भन्दै विभागमा उजुरी दिएका थिए । उजुरीमा राणा र उनकी श्रीमती रेजी राणाको नाममा रहेको सम्पतिको समेत छानविन गर्नुपर्ने माग छ ।

प्रभुको देखिने कुनै ठुलो व्यापार नभएपनि सम्पति भने अस्वभाविक रुपमा जोडेकाले छानविनका लागी माग भएको हो । उनले ठुला ठुला मुद्दामा सेटिंङ गरेर आर्थिक लाभ लिने गरेको भन्दै छानविन गर्नुपर्ने माग उठेपनि अहिलेसम्म अनुसन्धान अघि बढेको छैन । प्रधान्यायाधीश राणाले समेत आर्थिक लेनदेनमा उनलाई नै अघि सार्ने गरेको स्रोत बताउंछ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ