नेपालद्धारा मोरिसस १-० ले पराजित, विमल घर्तीमगर बने नायक


काठमाडौं– पहिलो मैत्रीपूर्ण खेलमा नेपालले मोरिससलाई १–० ले पराजित गरेको छ । शनिबार दशरथ रंगशालामा भएको पहिलो मैत्रीपूर्ण खेलमा विमल घर्तिमगरको निर्णायक गोलमा नेपाली फुटबल टोलीले मोरिससलाई पराजित गरेको हो ।

दशरथ रंगाशालामा भएको खेलको ५५औं मिनेटमा विमलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । उनको गोल नै नेपालको जितका लागि निर्णायक बन्यो । उनले अन्जन बिष्टको लङ पासमा पेनाल्टी एरियाबाट सुन्दर गोल गरेका थिए ।

२०७६ मा जोर्डनविरुद्ध विश्वकप छनोटमा अन्तर्राष्ट्रिय खेल खेलेपछि घुँडाको चोटका कारण लामो समय मैदान बाहिर रहेका थिए । उनी जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग बाट खेलमा फर्किएका थिए ।

मोरिससविरुद्धको खेलबाट नै जगजित श्रेष्ठले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । उनी खेलको ६०औं मिनेटमा सुनिल बलको ठाँउमा मैदान प्रवेश गरेका थिए । सन् २०१७ मा फिलिपिन्स विरुद्ध विश्वकप छनोट खेलेर अष्ट्रेलिया गएका जगजित हरेक वर्ष लिग खेल्न नेपाल आउने गर्छन ।

अहिले पनि लिग खेलिरहेका उनले राष्ट्रिय टोलीमा स्थान बनाउँदै करिब पाँच वर्ष पछि अन्तर्राष्ट्रिय खेल खेलेका हुन् । सातदोबाटो युथ क्लबबाट ए डिभिजन लिग खेलीरहेका मिडफिल्डर सुदिप गुरुङले यसै खेलमार्फत अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका छन् ।

खेलको ८३औं मिनेटमा सुरज जिउ ठकुरीको स्थानमा मैदान प्रवेश गर्दै उनले राष्ट्रिय टोलीबाट डेव्यु गरेका हुन् । यस्तै, सातदोबाटोकै आकाश बुढामगरले पनि राष्ट्रिय टोलीमा डेव्यु गरेका छन् । उनले खेलको इन्जरी समयमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दे डेव्यु गरे । नेपाल र मोरिससबीचको दोस्रो खेल मंगलबार दशरथ रंगशालामै हुने छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ