एमसीसीको पक्षमा उभिन सांसदलाई कांग्रेसको ‘ह्विप’ जारी


काठमाडौं ।  नेपाली काँग्रेसले बिहीबार बस्ने संसद बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।कांग्रेसले पार्टीका सबै सांसदलाई बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिएको हो ।

संसदीय दलकी सचेतक पुष्पा भुसालले भोलिको संसद बैठकमा एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्न सक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिइएको बताइन् ।

‘सैद्धान्तिक छलफल र निर्णय प्रक्रिया जोडिएको हुन्छ, तसर्थ यसलाई एमसीसीको पक्षमा उभिन सांसदलाई ह्विप नै जारी गरिएको भनेर बुझ्दा पनि हुन्छ,’ भुसालले भनिन् । हाल प्रतिनिधिसभा बैठकमा नेपाली काँग्रेसका तर्फबाट ६३ जना सांसद छन्, तीमध्ये दुईजना निलम्बित छन् । सांसद प्रदीप गिरि उपचारका क्रममा भारतमा छन् ।

काँग्रेस एमसीसीको पक्षमा छ । काँग्रेस सांसद लक्ष्मी परियारले भोलि बस्ने संसद बैठकमा उपस्थित हुन भनेर सर्कुलर आएको जानकारी दिइन् । उनले पार्टीको संसदीय दलको कार्यालयले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन भनेर म्यासेज पठाएको पुष्टि गरिन् ।

सत्तारुढ प्रमुख दल काँग्रेस संसदमा दोस्रो ठूलो शक्तिको रूपमा रहेको छ । संसदमा सबैभन्दा धेरै एमालेका ९७ जना सांसद छन् । एमालेले एमसीसीको सम्बन्धमा संसदमा पक्ष वा विपक्षमा उभिनेबारे स्पष्ट धारणा सार्वजनिक गरेको छैन । एमालेले आफूहरूका माग सम्बोधन गरे मात्रै एमसीसीको विषयमा निर्णय गर्ने अडान राखेको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ