धरानमा आज मध्यरातिदेखि कर्फ्यू, भोलि दिनभर रहने


विराटनगर – सुनसरीको धरान उपमहानगरपालिकामा स्थानीय प्रशासनले शुक्रवार रातिदेखि शनिवार रातिसम्मका लागि निषेधाज्ञा (कर्फ्यू) आदेश जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले धरान उपमहानगरपालिकाभरि शनिवार रातिसम्मका लागि निषेधाज्ञा जारी गरेको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा जारी गरेको सूचना प्रकाशित गरेकी छन् ।

सूचनामा भनिएको छ, ‘धरान उपमहानगरपालिका क्षेत्र धार्मिक/साम्प्रदायिक साथै जनस्वास्थ्य संकट तथा शान्ति सुरक्षाको संवेदनशीलतालाई समेत मध्यनजर राखी संक्रामक रोग ऐन २०२० को दफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम मिति २०८०।०५।०८ गते राति १२ बजेदेखि मिति २०८०।०५।०९ गते राति १२ बजेसम्म अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरी बाहेक सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, न्याती/भेलाजम्मा/प्रदर्शन लगायतका कुनै पनि कार्यक्रमहरू नगर्न/नगराउन धरान उपमहानगरपालिका क्षेत्र भित्रका सम्पूर्ण वडा लगायत तपसिलका क्षेत्रमा समेत लागू हुने गरी निषेधादेश जारी गरिएको व्यहोरा सम्बन्धित सम्पूर्णको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम बाटो बराह क्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चोकदेखि घरानतर्फको क्षेत्र धरान उपमहानगरपालिका प्रवेश गर्ने पश्चिम दक्षिण रामधुनी नगरपालिका–६ बाट बराह क्षेत्र नगरपालिका–३ नडाहा चोकबाट धरानतर्फको क्षेत्र, इटहरी उपमहानगरपालिका वडा नम्बर २० तरहरा पानीपियादेखि उत्तर धरानतर्फको क्षेत्र, धरान उपमहानगरपालिका–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरानतर्फको क्षेत्र र धनकुटा जिल्ला साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट घरानतर्फको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ