राम्रो जीवनस्तर भएका मुलुक


वर्ल्ड पपुलेसन रिभ्यु डटकमका अनुसार सन् २०२३ मा बस्नलायक उत्कृष्ट देशको सूचीमा स्विट्जरल्यान्ड पहिलो स्थानमा छ । स्वास्थ्य प्रणाली सुदृढ भएकाले यस देशलाई बस्नलायक देशको सूचीमा पहिलो स्थानमा राखिएको हो । यहाँ मानिसको औसत आयु पुरुषको ८२ वर्ष र महिलाको ८५.९ वर्ष छ । यहाँ मानिसहरूको प्रतिव्यक्ति आय निकै राम्रो छ । बसाइ महँगो भए पनि जीवन गुणस्तरीय रहेको बताइएको छ ।

दोस्रो स्थानमा नर्वे छ । गत वर्ष नर्वे पहिलो स्थानमा थियो । यहाँ पनि स्वास्थ्य प्रणाली तथा प्रतिव्यक्ति आय निकै राम्रो छ । नर्वेले सबै नागरिकलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने गरेको छ । यहाँ अपराध दर पनि निकै कम छ ।

बस्नलायक देशको सूचीमा डेनमार्क तेस्रो स्थानमा छ । यहाँका नागरिकले आफ्नो सरकार र सरकारी निकायमाथि ठूलो भरोसा गर्छन् । सबै नागरिकलाई अध्ययन र उपचारको निःशुल्क व्यवस्था गरिएको छ ।

चौथो स्थानमा आइसल्यान्ड छ । यो विश्वकै शान्त देशमध्ये एक मानिन्छ । पाँचौँ स्थानमा चीनको स्वशासित क्षेत्र हङकङ छ । यहाँ कर निकै कम भएकाले व्यवसायीहरूका लागि यो निकै आकर्षक गन्तव्य बनेको छ । अपराध दर कम छ । पूर्वीय तथा पश्चिमा संस्कृतिको उत्कृष्ट मिश्रण रहेको ठाउँका रूपमा यसलाई लिइन्छ । यस सूचीमा नेदरल्यान्ड्स छैटौँ, अस्ट्रेलिया सातौँ, स्विडेन आठौँ, आयरल्यान्ड नवौँ र जर्मनी दशौँ स्थानमा छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ