सुन प्रकरणमा दोषी देखिए जुनसुकै पार्टीका भए पनि छुट हुँदैनः गृहमन्त्री श्रेष्ठ सेतोपाटी संवाददाता सेतोपाटी संवाददाता


उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा दोषी देखिए माओवादी या कुनै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताएका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै श्रेष्ठले केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई तथ्य र प्रमाणका आधारमा अनुसन्धान गर्न निर्वाध छाडिएको बताएका हुन्।

‘त्यो भेपको फाइल गृहमन्त्रीको टेबलमा छ नि भन्नुभयो, मेरा एकदम अनन्य मित्रले,’ रास्वपाका सभापति लामिछानेलाई लक्षित गर्दै मन्त्री श्रेष्ठले भने, ‘हैन, पहिला सरकार चलाउँदा त्यसो गरिन्थ्यो र? सिआइबीले गरेको अनुसन्धान पहिले मेरो टेबलमा ल्याइजो अनि म जे भन्छु त्यही गर!’

लामिछानेले इलेक्ट्रिक चुरोटमा सुन ल्याएको प्रकरणको फाइल गृहमन्त्रीकै टेबलमा अड्किएको बताएका थिए। त्यसमा माओवादीका नेताहरूकै नाम जोडिएको उनको भनाइ थियो।

लामिछानेलाई जवाफ दिने क्रममा गृहमन्त्रीले दोषी देखिने कोही कसैले छुट, उन्मुक्ति नपाउने बताएका हुन्।

‘हामी त्यस गर्दैनौं। हामीले त सिआइबीलाई निर्देशन दिएका छौं-तपाईंहरू अनुसन्धान गर्नुस्। अनुसन्धानमा तथ्य र प्रमाणले जे देखाउँछ, त्यस आधारमा अभियोजनको प्रक्रियामा लैजानुस्। को मानिसलाई तान्ने, को मानिसलाई छुट दिने भन्ने मानिस हामी होइनौं? हामी त्यसो गर्न सक्दैनौं। कानुनलाई लागू गर्छौं। कानुनलाई लागू गर्ने संस्थालाई अनुसन्धान गर्न दिन्छौं। अहिले यो सन्दर्भमा भन्छु, माओवादी वा कुनै पार्टी होस् अनुसन्धानले, तथ्य प्रमाणले दोषी देखिए कोही पनि छुट्नेवाला छैनन्,’ उनले भने।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ