माओवादी बैठकमा आज प्रचण्डले जवाफ दिने


काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि बस्दै छ । ५ दिन यता काठमाडौंको प्रज्ञा भवनमा जारी माओवादी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो राजनीतिक तथा सांगठनिक प्रस्तावमा केन्द्रीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यक्रम रहेको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बताए ।

बैठक आजका लागि दिउँसो १ बजे बोलाइएको छ ।

शनिवारको बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ । केन्द्रीय समिति बैठकमा २२१ नेताले आफ्नो धारणा राखेका छन् । मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन् ।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

आज बस्ने बैठकले पार्टीको आगामी तीन महिने अभियानको योजना बनाउने र नेताहरुको कार्यविभाजनको प्रक्रिया अघि बढाउने विषयमा ठोस निर्णय लिनेछ । माओवादीले वडालाई मुख्य आधार बनाएर देशैभर भदौं, असोज र कात्तिकमा जनतासँग पार्टी अभियान चलाउने र त्यसपछि मंसिरमा पार्टीको विधान अधिवेशन गर्ने गरि तयारी थालेको छ ।

शनिबार पार्टीका उपमहासचिवहरु वर्षमान पुन अनन्त, जनार्दन शर्मा प्रभाकर, गिरिराजमणि पोखरेल लगायतका नेताहरुले आ आफनो धारणा राखेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ