नेपालको परिवर्तनमा माओवादीको मुख्य भूमिका: भाजपा


काठमाडौँ । भारतीय जनता पार्टीले नेपालको परिवर्तनमा माओवादी केन्द्रको अहम् भूमिका रहेको बताएको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा भारत भ्रमणमा रहेका टोलीसँग कुरा गर्दै भाजपाका नेताहरुले सो कुरा बताएका हुन् ।

भाजपाको निमन्त्रणामा भारतको दिल्ली पुगेका नेताहरुले भाजपाको हेडक्वाटारमा विभिन्न तहका नेताहरुलाई भेटघाट गरेका छन् ।

माओवादीका नेताहरु हिजो (सोमबार) दुई पटक भाजपाको हेडक्वाटर पुगेर त्यहाँका नेताहरुसँग छलफल तथा भेटघाट गरेका थिए । उनीहरुले बिहान भाजपाका युथ कमिटी, महिला कमिटी तथा सञ्चार विभागसँग छलफल गरेका थिए ।

हिजो साँझामा भाजपाका अध्यक्ष जेपी नड्डासँग छुट्टै छलफल तथा भेटघाट थियो ।

सो छलफलमा अध्यक्ष नड्डाले भाजपा र माओवादी परिवर्तनकारी शक्ति रहेको भन्दै आआफ्नो देशमा दुवै दलले परिवर्तनका लागि संघर्ष गरिरहेको धारणा राखेका थिए ।

अध्यक्ष नड्डाले नेपालको परिवर्तनको मुख्यबाहक माओवादी रहेको धारणा राखेको टोलीमा रहेका माओवादीका एक नेताले बताए । माओवादी लामो संघर्ष गरेर आएको पार्टी भएको भन्दै नड्डाले भाजपा पनि लामो संघर्ष गरेर यो अवस्थामा आएको र भारतमा परिवर्तनका लागि प्रयासरत रहेको धारणा राखेका थिए । अध्यक्ष नड्डाले परिवर्तन, आर्थिक समृद्धि र  विकासका लागि भाजपा र माओवादी मिलेर काम गर्नुपर्ने बताए ।

हालै सम्पन्न प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले पनि दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाएको भन्दै अध्यक्ष नड्डाले पार्टी–पार्टीको बीचमा पनि सम्बन्ध स्थापित गरेको धारणा राखेको बताइएको छ ।

यस्तै माओवादी केन्द्रका नेताहरुले मंगलबार नै भारतका विदेश मन्त्री एस.जयशंकरसँग भेट्ने कार्यक्रम रहेको छ । भ्रमणको कार्यतालिकमा विदेश मन्त्री एस. जयशंकरसँग भेट्ने कार्यक्रम नरहेपनि भाजपाले उनीसँग पनि भेटाउने तयारी गरिरहेको बुझिएको छ ।

हिजो माओवादीका नेताहरुले महिला, बालबालिका विकास मन्त्री स्मृति इरानीसँग भेटघाट गरेका थिए ।

माओवादीका नेताहरु बुधबार देहारादुनका लागि प्रस्थान गर्नेछन् । त्यहाँ ऋषिकेशनमा गंगा आरतीमा सहभागी हुनुको साथै उत्तराञ्चलका मुख्यमन्त्री पुष्करसिंह धामीसँग भेटघाट गर्ने बताएको छ । माओवादीका नेताहरु दुई दिनसम्म देहरादुनमा रहने र साउन १२ गते नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ