अहिले म वनझाँक्रीको घेराबन्दीमा छु : मन्त्री किराँती


पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किराँतीले आफू मन्त्री भएपछि वनझाँक्रीको घेराबन्दीमा परेजस्तै भएको बताएका छन्।

शुक्रबार शिवप्रसाद घिमिरेको ‘शून्यबाट सुरु’, व्यापारबाट अपार पुस्तकको विमोचन गर्ने क्रममा उनले भने, ‘यहाँ आफूले घुस खान जान पर्दैन। घुस खुवाउन आफैँ आउँदा रहेछन्। यो कुरा मन्त्री भएपछि थाहा पाएँ। कस्तो मुलुक हो यो ? छक्क पर्छु।’

हवाई क्षेत्रमा लगाइएको करमा पनि आफ्नो असहमति रहेकोसमेत उनले  बताए। उनले भने, ‘बजेटमै लिएर मेरो असहमति छ। मैले सम्बन्धित निकायलाई भनिरहेको छु अर्थमन्त्रीसित त सानोतिनो आन्दोलनमै छु भने नि हुन्छ।’

उनले हवाई क्षेत्रमा कर बढाउँदा हवाई भाडा झनै बढ्ने बताए। ‘यसै पनि हाम्रो मुलुकमा भाडा महँगो छ। यसरी त कसरी पर्यटन बढ्छ ? कसरी आम्दानी बढ्छ,’ उनले भने।

उनले भ्रष्टाचारको फाइल अझै खोल्दै जानुपर्ने बताए। उनले भने, ‘ह्वेल माछा समातिए पनि ह्वेल माछालाई भ्रष्टाचारको पौडी खेल्न सिकाउने ह्वेल माछाका बाउआमालाई पनि  समाउनुपर्छ।’

पशुपतिको जग्गा खायो भन्नेलाई उनले भने, ‘म मर्दा पाँच फिट जमिन चाहिने हो। एक मुठी धुवाँ उडेर जाने हो। त्यसैले म गल्ती गर्दिनँ।’



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ