बिना निष्कर्ष सकियो गठबन्धन बैठक, फेरि अपराह्न ४ बजे बस्ने


काठमाडौँ ।  स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ । आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा स्थानीय चुनाव गराउनेबारे छलफल भए पनि निर्वाचन कहिले गर्ने भन्ने टुंगो नलागेको नेताहरुले बताएका छन् ।

यसबारेमा आजै अपराह्न ४ बजे फेरि बैठक बसेर निर्वाचनको मिति टुंगो लगाउने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो ।

नेपाली कांग्रेसभित्र चुनाव सार्न नहुने मत बलियो भएका कारण प्रधानमन्त्री शेरबहादुर देउवा दबाबमा छन् । चुनाव सार्नु वा वैशाखमा नगर्नु संविधानविरुद्ध हुने भएकाले कांग्रेसले संविधानविरुद्ध जान नहुने नेताहरुको भनाइ छ । यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि समयमै स्थानिय निर्वाचन नगरे प्रतिवाद गर्ने बताइसकेको छ ।

प्रचण्ड र माधव नेपाललाई समेत मनाएर समयमै चुनाव गर्नेगरी छलफल सकारात्मक ढंगले अघि बढेको बैठकमा सहभागी कांग्रेसका एक नेताले बताए ।

 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ