एमालेलाई दियो माओवादीले धोका !


काठमाण्डु- नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको सम्बन्ध पछिल्लो समय चिसिएको छ । गत पुस १० गते नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनबाट अलग्गिएर नेकपा माओवादी केन्द्र नेकपा एमालेसँग मिलेको थियो ।

नेकपा एमालेसहित अन्य दलको समर्थनमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका हुन् । नेकपा एमालेको सहयोगमा प्रधानमन्त्री बनेका प्रचण्ड पछिल्लो समय नेपाली कांग्रेससँग नजिकिन थालेका छन् । प्रचण्ड कांग्रेससँग नजिकिएसँगै नेकपा एमालेसँगको उनको सम्बन्धन चिसिन थालेको आँकलन गरिएको हो ।

पुस १० गते प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो । त्यसबेला माओवादी अध्यक्ष प्रचण्ड कांग्रेसबाट अलग्गिएर एमाले कित्तामा पुगेपछि प्रधानमन्त्री र सभामुखमा आलोपालो नेतृत्व गर्ने तथा राष्ट्रपति एमालेले लिने सहमति भएको  हो । त्यस बमोजिम माओवादीले प्रधानमन्त्री र एमालेले सभामुख पाइसकेका छन् ।

तर, राष्ट्रपतिको विषयमा भने प्रचण्डले आनाकानी गरिरहेका छन् । शनिवार मात्रै पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको माओवादीको स्थायी कमिटी बैठकले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको हो ।  

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सबैले समर्थन गरी विश्वासको मत दिएकाले सबै पार्टीहरुसँग छलफलका लागि आफूहरू खुला रहेको बताएका छन् । माओवादीले उक्त निर्णय गर्नुबाट बुझ्न सकिन्छ की पुस १० को सहमतिबाट माओवादी पछि हटेको हो ।

माओवादी केन्द्रले गरेको उक्त निर्णयले पुस १० को सहमतिबाट पछि हट्नुका साथै नेकपा एमालेलाई धोका मिल्न सक्नेसमेत बुझिएको छ । कतिपय एमाले नेताहरूले नेकपा माओवादी केन्द्रले धोका दिन खोजेको पनि आरोप लगाएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने आफ्नो पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने र त्यसैमा राष्ट्रिय सहमति गर्नुपर्ने बताउँछन् । यसबारेमा सत्ता गठबन्धनमा पुस १० गते नै सहमति भइसकेको उनको दाबी छ । 

पुरानो गठबन्धन ब्युँताउन माओवादीलाई फकाउदै कांग्रेस

नेपाली कांग्रेस भने माओवादी केन्द्रलाई फकाउने रणनीतिमा लागेको छ । पुस १० गतेसम्म तत्कालीन सत्ता गठबन्धनमै रहेको माओवादीलाई पुरानै अवस्थामा फर्काउन जुटेको हो ।

कांग्रेसले गत पुस २६ गते प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर पुस १० गते भत्किएको आफू नेतृत्वको ५ दलीय सत्ता गठबन्धनलाई ब्युँताउने प्रयासस्वरुप माओवादी फकाउन लागिरहेको छ ।

यसैबीच नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने निर्णय गर्यो । कांग्रेसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको हो । आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले सो निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताए ।

कांग्रेसले उक्त निर्णय गर्नुबाट सहजै बुझ्न सकिन्छ की कांग्रेस माओवादीलाई आफ्नो कित्तामा ल्याउन चाहान्छ । नेपाली कांग्रेसले राष्ट्रिपति निर्वाचनमा आफ्नो उम्मेदवारलाई माओवादी केन्द्रले सहयोग गर्ने बताउँदै आएको छ ।

राष्ट्रपति निर्वाचनमा सहयोग पाउने आशले कांग्रेसले माओवादीले उम्मेदवारी दिएका संघदेखि प्रदेशसम्मका विभिन्न पदहरुमा समर्थन गरिरहेको छ । 



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ