राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य अन्योलमा


सर्वोच्च अदालतले सांसद र मन्त्रीसँगै पार्टी सभापति पद पनि खारेजीको फैसला सुनाउँदा रवि लामिछाने सिंहदरबारस्थित गृह मन्त्रालयमा थिए । शुक्रबार दिनभर गृह मन्त्रालयमै रहेका लामिछाने सर्वोच्चको फैसलापछि बाहिरिँदै गर्दा पत्रकारले जिज्ञासा राखे– अब राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति को बन्छ ? लामिछानेले सटीक जवाफ फर्काए, ‘खोइ, थाहा भएन ।’

शुक्रबारै साँझ बसेको रास्वपाको केन्द्रीय समिति बैठकले तत्कालको समस्या टार्नेगरी श्रममन्त्रीसमेत रहेका उपसभापति डोलप्रसाद अर्याललाई कार्यबाहक सभापति र संसदीय दलको नेताको जिम्मेवारी सुम्पिएको छ । रास्वपामा दलको नेता केन्द्रीय समितिले नै चुन्ने र संसदीय दलबाट अनुमोदन हुने व्यवस्था छ । प्रतिनिधिसभामा रास्वपाका लामिछानेबाहेक १९ सांसद छन् ।

‘सर्वोच्चको फैसलापछि आकस्मिक बसेको पार्टीको केन्द्रीय समिति बैठकले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबाहक सभापति र संसदीय दलको नेताको जिम्मेवारी तोकेको छ,’ प्रवक्ता मुकुल ढकालले भने, ‘सर्वोच्चको फैसलालाई पनि स्विकार्ने निर्णय भएको छ ।’ केन्द्रीय समिति बैठकअघि रास्वपाका नेताहरूले कानुन व्यवसायीहरूसँग छलफल गरेका थिए ।

रास्वपाका एक सांसदले सर्वोच्चको फैसला अनपेक्षित रहेको र यसपछि पार्टीलाई अघि बढाउन जटिल हुन सक्ने बताए । ‘हामी त ९० प्रतिशत जित्छौँ भन्नेमा थियौँ । तर, खोइ कसरी यस्तो फैसला आयो, अचम्मित छौँ,’ उनले भने, ‘हाम्रो पार्टी भनेकै खासगरी रवि लामिछानेको नाम र लोकप्रियताका कारण उदाएको हो । उहाँ र उहाँले स्थापित गरेको घन्टी चिह्नको प्रभाव देशभर परेको सत्य हो । त्यसैले अब उहाँविना यो पार्टीलाई अघि बढाउन जटिल हुन सक्छ ।’

निर्वाचन आयोगका अनुसार दलको कुनै एक सदस्य अयोग्य हुँदैमा पार्टीको वैधतामा भने प्रश्न नहुने बताउँछन् । तर, रास्वपाको हकमा फैसलाको पूर्णपाठ नपढी केही भन्न नसकिने उनको भनाइ छ । ‘यस विषयमा राजनीतिक दलसम्बन्धी ऐन र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन आकर्षित हुन्छ । दलको कुनै एक सदस्य अयोग्य हुँदैमा दल नै अयोग्य नहुन सक्छ । तर, आधिकारिक रूपमा अहिले नै केही भन्न सकिन्न । फैसलाको पूर्णपाठ आएपछि मात्रै आयोगले यसबारे भन्न सक्छ,’ उनले भने ।

लामिछानेबाहेक रास्वपाका १९ सांसदमा मन्त्रिपरिषद्मा दुई मन्त्री र एक राज्यमन्त्री छन् । शिक्षा मन्त्रालयमा शिशिर खनाल, श्रम मन्त्रालयमा डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की छन् । अहिले देशभर ६० भन्दा बढी जिल्लामा रास्वपाको कमिटी विस्तार भएको महामन्त्री ढकालको दाबी छ । २४ सदस्यीय केन्द्रीय सदस्य रहेको रास्वपामा कुल सदस्य कति छ भन्नेमा प्रवक्ता स्वयं अनभिज्ञ छन् । ‘हामीले भौतिक र अनलाइन दुवै हिसाबले सदस्यता दिइरहेका थियौँ । त्यसको अभिलेखीकरण गर्ने क्रममा छौं । ४०–५० हजार त होलान्,’ उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ