रावल एकल उम्मेदवार सिफारिस भएकोमा ओलीको चासो


काठमाडौँ — नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भीम रावल अछाम- १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा एकल सिफारिस भएकोप्रति पार्टीको सुदूरपश्चिमका नेताहरूसँग चासो व्यक्त गरेका छन् । सोमबार साँझ ओलीलाई भेट्न पुगेका प्रदेश इन्चार्ज लेखराज भट्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य यज्ञ बोगटी, अछाम इन्चार्ज झपट बोहोरा, अछाम जिल्ला अध्यक्ष चन्द्र बोहोरा र कृष्णप्रसाद जैसीले भेटमा अध्यक्ष ओलीले रावलको सिफारिसबारे चासो व्यक्त गरेका थिए ।‘हिजो साँझ अध्यक्षसँग भेट भएको थियो । उहाँले समग्र जिल्लाको अवस्थाबारे चासो व्यक्त गर्नुभयो । कसरी चुनाव जित्न सकिन्छ भन्नेबारे उहाँको चासो थियो‚’ एमाले अछामका अध्यक्ष बोहोराले भने, ‘पार्टीले प्रक्रियागत रुपमा तल्लो कमिटीबाट उम्मेदवार सिफारिस भएर आएको छ । उहाँले चुनाव लड्ने वा नलड्नेबारे के हो भनेर चासो राख्नुभयो । लामो समयदेखि रावल कमरेडसँग आफ्नो संवाद नभएको भन्ने उहाँको जिज्ञासा रहेको थियो ।’

करिब ४५ मिनेटसम्म भएको छलफलमा अधिकांश समय रावलको उम्मेदवारीको विषयमा अध्यक्ष ओलीले सोधखोज गरेका थिए । उनले ‘कुनै पनि निर्वाचन क्षेत्रबाट ३ जना उम्मेदवारको सिफारिस गर्ने कार्यविधि रावलको सिफारिसका क्रममा किन पालना नभएको ?’ भन्दै चासो व्यक्त गरेको छलफलमा सहभागी नेताले जानकारी दिए । एमालेका ‘दस नेता’ मध्ये एकल सिफारिस भएका रावलमात्रै हुन् ।

अछाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय र जिल्ला हुँदै प्रदेश कमिटीले अछाम- १ बाट रावल र अछाम- २ बाट यज्ञ बोगटीलाई उम्मेदवार बनाउन सिफारिस गरेको थियो । बोहोराका अनुसार यस विषयमा रावल र पार्टीका अन्य नेताहरूसँग छलफल गरेपछि जानकारी गराउने अध्यक्ष ओलीलाई बताएका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ