कोइराला समुहको दुःख कहिल्यै सुन्दैनन् देउवा


काठमाण्डु – नेपाली कांग्रेसका नेता शेखर कोइराला समूह स्थानीय तहकाे चुनावदेखि नै संस्थापन पक्षसँग रुष्ट बनेको छ । शेखर कोइराला पक्षले पार्टी सभापति शेरबहादुर देउवा मनपरी ढंगले काम गर्न थालेको बताउँदै आएको छ ।

तर, वर्तमान प्रधानमन्त्री समेत रहेका देउवा कोइराला समुहको कुरा  कहिल्यै सुन्दैनन् ।  गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा पनि शेखर पक्षले एक्लै चुनावमा जानुपर्ने माग राख्दै बारम्बार देउवासँग आग्रह गरेका थिए ।

नेता कोइरालाले कम्युनिष्टहरू रुखमा भोट नहाल्ने भएकाले स्थानीय तहको चुनावमा नेपाली कांग्रेसले एक्लै जानुपर्ने अडान राखे । तर, कोइरालाको मागलाई बेवास्ता गर्दै सभापति देउवाले सत्ता गठबन्धनमा आवद्ध दलहरूसँग मिलेर चुनावमा जाने निर्णय गरे । त्यसपछि कोइराला पक्ष आफ्नो अडान बाट पछि हट्यो ।

त्यस्तै नेपाली कांग्रेसभित्र मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा पनि किचलो बढ्दै गएको छ । सत्तारुढ दलहरूबीच सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएका बेला देउवालाई कोइराला समुहका नेता कार्यकर्ता व्यवस्थापन गर्न सकस परेको छ ।

सत्तागठबन्धनको चाबीसमेत मानिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेसलाई ८० र माओवादी केन्द्रलाई ६० सिटको प्रस्ताव गरे पछि कांग्रेस भित्र तरङग सिर्जना भएको हो ।

डा. कोइराला समुहले एकल बहुमत ल्याउने गरी भागबन्डा गर्न सभापति देउवालाई निरन्तर दबाब दिँदै आएको छ । उक्त पक्षले कम्तीमा पनि कांग्रेसलाई १०० सिट राखेर बाकिँ रहेका सिट अन्य दलहरूलाई भागबन्डा गर्नुपर्ने प्रस्ताव सभापति देउवा समक्ष राख्दै आएको छ ।

थोरै सिट लिएर निर्वाचनमा जाँदा कार्यकर्ता रुष्ट हुने उक्त पक्षको ठहर छ । भागबन्डा गर्दा कांग्रेसले बहुमत सिट नपाउने हो भने एक्लै निर्वाचनमा जानुपर्ने संस्थापन इतर समुहको दरो मत छ ।

तर, देउवा भने नेपाली कांग्रेसलाई ८० सिट दिए मनजुर हुने देखिएका छन् । यता डा. कोइरालाले यदि देउवाले आफ्नो कुरा नसुने पार्टीभित्र विद्रोह गर्ने समेत चेतावनी दिएका छन् ।  

यसैबीच डा. कोइराला पक्षले शनिबार मात्रै बानेश्वरमा खबरदारी सभा आयोजना गर्यो । शनिबार सभा थापागाउँस्थित बानेश्वर बैंक्वेटमा मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट वितरणमा संस्थापना समूहलाई दबाब दिन नेता शेखर र महामन्त्री गगन समूहले खबरदारी सभा आयोजना गरेको थियो ।

सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको सूची न्यायोचित नभएको भन्दै उनीहरूले असन्तुष्ट जनाउँदै आएका छन् ।

शेखर–गगन समूहले ४० प्रतिशत टिकट आफ्नो पक्षका नेता कार्यकर्ताले पाउनुपर्ने माग राख्दै आएको छ । साथै शेखर पक्षले समानुपातिक सूची सच्याउन खबरदारी गरेको छ ।

समानुपातिकका उम्मेदवार चयन गर्दा न्यायोचित नभएको भन्दै उक्त पक्षले पार्टीमा योगदान गरेका आफू पक्षका नेतालाई पनि समेटेर बन्द सूची सच्याउन आग्रह गरेका हुन् ।

जथाभावी उम्मेदवार चयन गर्दा पार्टीका लागि मत माग्न पनि अप्ठेरो पर्ने नेता गुरुराज घिमिरेले बताए ।  देउवा यसपटक पनि डा. कोइराला पक्षलाई पेलेरै अगाडि बढ्ने देखिएका छन् ।  



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ