माओवादीमा बलियो बन्दै जनार्दन, उपमहासचिव पदमा समेत बस्न मानेनन् !


काठमाण्डु – माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माको अभिव्यक्तिले पार्टीभित्र तरंग ल्याएको छ । अर्थमन्त्री समेत रहेका शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहालकै आलोचना गरेपछि त्यसले माओवादीभित्र तरंग ल्याएको हो ।

माओवादी अध्यक्ष दाहालले माओवादीको कर्णाली प्रदेशको सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रममा शर्मा र अर्का नेता शक्ति बस्नेतलाई इंगित गर्दै पार्टीमा गुट नै गुट भएको भन्दै कर्णालीमा पनि त्यसको प्रभाव रहेको बताएका थिए । दाहालले आफुले कहिलेकांही पार्टी नै विघटन गर्ने सोच बनाएको भन्दै शर्माप्रति असन्तुष्टि जनाएका थिए ।

शर्माले उक्त कार्यक्रममा आफु पार्टीको उपमहासचिवको हैसियतमा सहभागी नभएको भन्दै पार्टीको पदाधिकारी चयनप्रति सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । शर्माले पदाधिकारी चयनमा असन्तुष्टि जनाउंदै ‘नोट अफ डिसेन्ट’ नै लेखेका छन् ।

शर्मालाई गुट बनाएको भन्दै दाहालले सार्वजनिक रुपमा आलोचना गर्न थालेपछि उनले समेत काउण्टर दिन थालेका छन् । अखिल क्रान्तिकारीले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा ‘नगर प्रशंसा मेरो,मलाई प्रशंसादेखि डर लाग्छ ’ भन्दै भाषण सुरु गरेका शर्माले दाहालको रक्षक र एक नम्बर आलोचक आफु भएको भन्दै नेतृत्वको खुलेर आलोचना गर्नुपर्ने अभिव्यक्ति दिएका थिए ।

शर्माले नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्ने आफ्नो माग रहेको भन्दै अध्यक्ष दाहालको घुमाउरो ढंगले आलोचना गरेका थिए । त्यसबाट दाहाल निकै आक्रोसित भएका छन् ।

त्यतिमात्र होईन शर्माले अध्यक्ष दाहालकै अगाडी उनको सबैभन्दा बढी कडा आलोचक र सबैभन्दा बढी रक्षा गर्ने पनि आफै भएको भन्दै त्यसको जवाफ अध्यक्ष दाहालले दिने बताएका थिए । उनले नीति र नेतृत्वको रक्षा गर्न सकिएन भने आन्दोलन अघि बढ्न नसक्ने भन्दै यसको अर्थ नेतृत्वको कमजोरीको आलोचना नगर्ने नभएको भन्दै आलोचना पनि गर्नुपर्ने धारणा राखेका थिए ।

जवाफमा दाहालले जनार्दनलाई रक्षा गर्न र हुर्काउन पनि प्रचण्डको मुख्य भूमिका भएको भन्दै आक्रोस पोखेका थिए । उनले शर्माले जाँदाजाँदै नीति र नेतृत्व रक्षाको कुरा उठाएको भन्दै असन्तुष्टि पोखेका थिए ।

माओवादी स्रोतले दिएको जानकारीअनुसार पछिल्लो समय दाहाल र शर्माबीच सम्बन्ध बिग्रिएको छ । शर्मा माओवादी केन्द्रमा महासचिवका आकांक्षी थिए । उनले पार्टीभित्र स्वच्छ प्रतिस्पर्धा हुनुपर्ने बताउंदै आएका थिए । तर, दाहालले महाधिवेशन सम्पन्न भएको आठ महिनापछि भएको पदाधिकारी चयनमा समेत मनोमानी गरेको भन्दै शर्मा असन्तुष्ट छन् ।

दाहालले महासचिवका प्रतिस्पर्धी शर्मासहित वर्षमान पुन,शक्ति बस्नेत र पम्फा भुसाललाई उपमहासचिवमा थन्काएर देव गुरुङलाई महासचिव बनाएका थिए ।यसको पछाडी दाहालले तीन जना युवा नेतालाई सन्तुलनमा राखेर आफुलाई थ्रेट नहोस भन्ने नै भएको धेरैको बुझाइ छ ।

शर्माले पार्टीलाई जिवन्त बनाउन युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नपर्ने भन्दै पार्टीभित्र आवाज उठाइरहेका छन् । उनले आफुलाई नबनाउने हो भने अर्का नेत बस्नेतलाई महासचिव बनाउनपर्ने बताएका थिए । तर, दाहालले त्यसमा समेत रुची नदेखाएको स्रोत बताउंछ ।

‘माओवादीभित्र नेताहरु मिलेको उहां (दाहाल) मन पराउनु हुंदैन । प्रभावशाली नेताहरु मिलेको उहांलाई आभास भयो भने अनेकतिर खेल्न थाल्नुहुन्छ । यसपटक पनि उहांले सबैलाई लडाएर गुरुङजीलाई महासचिव बनाउनुभयो । तर, यो निर्णयले पार्टीलाई फाइदा हुंदैन । ’ माओवादीका एक स्थायी समिति सदस्यले भने ।

माओवादीमा यसअघि बावुराम भट्टराई,मोहन वैद्य, सिपी गजुरेल,नेत्रविक्रम चन्दले दाहालको सार्वजनिक रुपमा आलोचना गरेपनि अरु नेताहरुले भने शर्माको जति आंट गर्न सकेका छैनन् । माओवादीमा दाहालको आलोचना गर्नेहरुले या त पार्टी छोडेको इतिहास छ या राजनीतिक रुपमा खुम्चेर बस्नुपरेको छ । तर, शर्माले सार्वजनिक मंचबाट दाहालको आलोचना गरेर आफु पार्टीलाई बचाउन जस्तोसुकै जोखिम मोल्न तयार रहेको सन्देश दिएका छन् ।

माओवादी नेता शर्माको युद्धकालदेखि नै दाहालसंग उतार चढावको सम्बन्ध छ । शर्मा दाहाललाई धम्काउन समेत सक्ने नेताका रुपमा चिनिन्छन् । माओवादीमा शर्मा र वर्षमान पुनको हेटौडा महाधिवेशनसम्म एउटै समुह थियो । तर,पुनले आफुलाई धोका दिएको भन्दै शर्मा उनिसंग आक्रोसित छन् । शर्माले आफु सिनियर भएपनि पुनलाई यसअघि नेता मानेको तर अव आफुले उनलाई नस्वीकार्ने बताउंदै आएका छन् ।

माओवादीको हेटौडा महाधिवेशनमा शक्ति वस्नेत,कृष्णबहादुर महरा र अग्नि सापकोटाहरुको अर्को गुट थियो । तर, अहिले माओवादीमा समिकरण फेरिएको छ । अहिले शर्मा र बस्नेतको समेत दुरी घटेको माओवादी स्रोत बताउंछ । शर्माले पछिल्लो समय केन्द्रीय समिति र पार्टीका जनवर्गिय संगठनमा आफ्नो उपस्थिती बलियो बनाउंदै लगेका छन् । उनि अर्थमन्त्री भएपछि त्यसको प्रभाव समेत परेको छ ।

जनयुद्धकालमा धेरै फौंजि कार्वाहीको नेतृत्व गरेका शर्मा दाहालका विश्वासपात्र हुन् । उनै शर्माले नेकपा बनाउन दाहाल निर्देशनमा महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । त्यो बेला उनले वर्षमानको विकल्पका रुपमा शर्मालाई अघि सारेका थिए । शर्मालाई नेकपा बनेपछि पार्टीको उपमहासचिव बनाउने आश्वासन दिएपनि पछि दाहालले शर्मालाई मन्त्रीसम्म बनाएनन् । दाहालले आफ्नो काम निस्केपछि पुन,महरा र बस्नेतलाई निकट राखेका थिए । त्यसबेला पनि शर्मा उनिसंग असन्तुष्ट थिए ।

यसपटक पनि दाहालले सुरुदेखि नै महासचिवको तयारी गर्न शर्मालाई भनेको उनि निकट स्रोत बताउंछ । तर, दाहालले अन्तिममा यही भदौ ४ मा गुरुङलाई महासचिव बनाउने प्रस्ताव ल्याएदेखि शर्मा असन्तुष्ट छन् । गुरुङले यसअघि पार्टी विभाजन गरेर अर्को पार्टीमा लागेका थिए । उनि दाहालको चर्को आलोचक हुन् । शर्माबाट भन्दा गुरुङबाट नेतृत्वमा थ्रेट नपुग्ने भएपछि उनलाई महासचिव बनाइएको माओवादी स्रोत बताउंछ ।

शर्माको पछिल्लो समय माओवादीभित्र बलियो पकड बन्दै गएको छ । उनको संगठनमा बलियो प्रभाव भएकै कारण दाहालसंग सार्वजनिक प्रतिवादमा शर्मा उत्रिएको माओवादी स्रोत बताउंछ । आफु निकट कार्यकर्ताको संरक्षण गर्ने र बोलेको कुरा पुरा गर्ने स्वभावका कारण समेत शर्मा माओवादीभित्र बलियो बन्दै गएका छन् ।

पछिल्लो समय दाहालले नेता वर्षमान पुनलाई एमालेसंग डिल गर्न परिचालन गरेका छन् । त्यसमा पनि शर्मा सन्तुष्ट छैनन् । उनि कांग्रेससंगै तत्काल मिलेर जानपर्ने पक्षमा छन् । नेता बस्नेत समेत तत्काल वाम गठबन्धन सम्भव नभएको भन्दै निर्वाचनपछि मात्र त्यसको बहस गर्नुपर्ने पक्षमा रहेको माओवादी स्रोत बताउंछ ।

शर्माले सार्वजनिक रुपमा आलोचना गर्न थालेपछि दाहाल त्यसबाट असन्तुष्ट बनेका छन् । यसअघि समेत दाहालले नेकपा कालमा शर्माको प्रभाव बढ्दै गएपछि अखिल क्रान्तिकारीले भृकुटीमण्डपमा आयोजना गरेको कार्यक्रममा सबैलाई प्रचण्ड बन्ने रहर लागेको भन्दै उनको आलोचना गरेका थिए । शर्माले आलोचना गर्न थालेपछि दाहाल निकट युवा नेताहरुले उनको सार्वजनिक रुपमै सामाजिक संजालमा आलोचना गर्न थालिसकेका छन् ।

‘पार्टीभित्र जव जव कुनै नेताको प्रभाव बढ्न थाल्छ तव दाहालले त्यो नेताका विरुद्ध माहोल बनाउन थाल्छन् । शर्माको पनि पार्टी र संगठनभित्र प्रभाव बढ्न थालेपछि दाहालले अहिले उनलाई ठाउंमा राख्न खोजेका हुन् ।’ दाहाल निकट एक नेताले भने ।

माओवादीको बलियो आधार रहेको कर्णाली प्रदेशमा शर्मा र बस्नेतको एकलौटी संगठन छ । माओवादीले निर्वाचनमा समेत यो प्रदेशमा राम्रो परिणाम ल्याएको छ । उनिहरु दुवै जना मिलेको अवस्थामा माओवादी बलियो हुने अवस्था छ । शर्माको निर्वाचन क्षेत्र समेत सबैभन्दा सुरक्षित छ । त्यही तुलनामा पुनको क्षेत्रमा प्रतिस्पर्धी धेरै छन् ।

यसपटक पुनसहित कृष्णबहादुर महरा,जयपुरी घर्ती र कुलबहादुर केसीको रोल्पाबाट नाम सिफारिस भएको छ । तर, बस्नेत र शर्माको भने एक सिफारिस छ । शर्मा र बस्नेत दुवै दाहालका निकट सहयोगी हुन् ।

शर्मा उमेरले पनि दाहालसंग संगै भएकाले पनि अव धेरै ढिलो गर्नेमा छैनन् । त्यसैले उनले पार्टीमा आफुले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने तयारी सुरु गरेका हुन् । शर्माभन्दा पुन र बस्नेत उमेरले जुनियर हुन् । राजनीतिक रुपमा सिनियर रहेका शर्मा पार्टी कमिटीमा भने दुवैभन्दा जुनियर बने ।

उर्जामन्त्रीका रुपमा सफल भएका शर्मा अर्थ र गृहमन्त्री हुंदा भने आलोचित भए । लोडसेडिङ हटाएको जस लिएका शर्मा अर्थमा भने बजेट निर्माणको क्रममा बिवादित भएका थिए । यद्यपी उनलाई संसदिय समितिले निर्दोष रहेको रिपोर्ट सार्वजनिक गरिसकेको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ