संसदीय विशेष समितिको प्रतिवेदन अस्वीकार गर्नुपर्छ : अध्यक्ष ओली


काठमाण्डु – प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई अस्वीकार गर्नुपर्ने बताएका छन् ।

शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा अध्यक्ष ओली बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन नेपाली जनताले अस्वीकार गनुपर्ने बताएका हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे छानबिन गर्न गठित ११ सदस्यीय संसदीय टोलीमा एमालेका ४ जना र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरु थिए ।

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको दावी गरेका छन् । ‘११ जनाको समिति बनाउने, ७ जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने ?, यो तथ्यमा आधारित रिपोर्ट होइन, त्यसलाई मान्न सक्ने कुरा हुन्न, नेपाली जनताले अस्वीकार गर्नुपर्छ ।’, उनले भने ।

छानबिन समितिलाई सीसीटीभी फुटेज र कल डिटेल हेर्न नदिएको उनको भनाइ छ । त्यस्तै अध्यक्ष ओलीले युवाहरुले पदमा बस्नैपर्ने गलत संस्कार देखिन थालेको बताएका छन् ।

‘युवाहरु पद नभई बस्न नसक्ने अवस्था आयो भने, ३०–३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आयो भने । युवाहरुलाई पद नभई माथिल्लो कमिटी ठूला ठूला बनाउनुपर्ने अवस्था आयो भने त्यो पनि राम्रो लक्षण होइन।’, उनले भने ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ