पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता नलिए आफैं भाडा बढाउने यातायात व्यवसायीको चेतावनी


काठमाडौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारीको भाडा दर आफै समायोजन गर्ने चेतावनी दिएको छ ।महासंघका महासचिव सरोज सिटौलाले अहिले बढेको पेट्रोलियम पदार्थको मूल्य फागुन २५ गतेसम्म फिर्ता नलिए गाडी भाडा आफैं बढाउने चेतावनी दिएका हुन् ।

पटक-पटक पेट्रोलियम पदार्थको मूल्य बढे पनि गाडी भाडा नबढ्दा यातायात व्यवसायीले धान्न नसक्ने अवस्था आएको उनको भनाइ छ ।‘पेट्रोलको भाउ भने बढेको बढ्यै छ । गाडी भाडा भने बढ्दैन । हामी अब सहन सक्दैनौँ । सरकारलाई २५ गतेसम्म मूल्यबृद्धि फिर्ता गर्ने वा भाडा समायोजन गर्ने समय दिन्छौं, नगरे भाडा आफैं बढाउँछौं,’ उनले भने ।

नेपाल आयल निगमले बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा ५-५ रुपैयाँका दरले मूल्य बढाएको छ । नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ, डिजेल र मट्टीतेल प्रतिलिटर १३३ रुपैयाँ तोकिएको छ । २७ असार २०७८ मा सरकारले सार्वजनिक सवारीको भाडा बढाए यता डिजल र पेट्रोलको मूल्य प्रतिलिटर २५ रुपैयाँले बढिसकेको छ ।

२७ असारमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले पेट्रोलियम पदार्थ र गाडीका पार्टपुर्जाको मूल्यवृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा २० देखि २८ प्रतिशतसम्म भाडा बढाउन मन्त्री स्तरीय निर्णय गरेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ