नयाँ दलले पुरानालाई सम्मान गरेनन् : प्रधानमन्त्री प्रचण्ड

नयाँ राजनीतिक दलहरुले बाेल्दा हेक्का राखुन्


काठमाण्डु-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको गुनासो गरेका छन् ।

नेपालमा राजनीतिक दलहरूले दशकौँको संघर्ष र बलिदानपछि लोकतान्त्रिक गणतन्त्रको युगमा नेपाललाई प्रवेश गराएको कुरालाई बिर्सिएर नयाँ राजनीतिक दलहरूले पुराना दललाई अपमान गरिरहेको उनको आरोप छ ।

शुक्रबार काठमाडौंमा नेपाल बुद्धिजीवी संगठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले पुराना राजनीतिक दलकै कारण आफू अहिले यो अवस्थामा आइपुगेको हुँ भन्ने हेक्का नयाँ राजनीतिक दलहरूले राख्न जरुरी रहेको बताए । उनले नयाँ राजनीतिक दलहरूले बोल्दा हेक्का राखेर बोल्नुपर्ने बताए ।

पुराना दलहरुको प्रशंसा गर्नुपर्ने ठाउँमा नयाँ राजनीतिक दलहरूले आफूलाई जन्मदिने आमाबुबालाई अपमान गरेझैँ पुराना दलहरूको अपमान गरिरहेको प्रधानमन्त्रीले गुनासो गरे । ‘नेपालमा केही पनि छैन, नेपालमा केही पनि हुँदैन, नेपालका पार्टी नेताहरू कोही पनि ठिक छैनन् । त्यसकारण नेपालमा बस्नुभन्दा बाहिर नै जानु ठिक छ भन्ने मनोविज्ञान वा मनोभावना वा त्यसलाई उत्प्रेरित गर्ने कोसिस भइरहेको छ । सच्चाइ त्यही बिल्कुल होइन,’ उनले भने ।

प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका राजनीतिक दलभित्रका समस्या पनि आफूले सम्बोधन गर्ने गरी काम गरिरहेको दाबी गरे ।

जीवनको उत्तराद्र्धतिर पनि आफू जनयुद्धकालको भन्दा बढी खटेर काम गरिरहेको उल्लेख गर्दै अहिलेको भन्दा जनयुद्धमा आफ्नो जीवन सरल रहेको बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ