जनस्वास्थ्य प्रयोगशालामा स्वीकृत दरबन्दी विपरित अस्वभाविक जिम्मेवारी फेरबदल


धनगढी – जनस्वास्थ्य प्रयोगशाला धनगढी कैलालीको जिम्मेवारी हेरफेर गरीएको छ । सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुदूरपश्चिम प्रदेशमा स्वीकृत दरबन्दी विपरीत समूह तथा उपसमूह नमिल्ने वरिष्ठ जनस्वास्थ्य अधिकृतलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको छ । यसअघि प्रयोगशालामै कार्यरत राम प्रसाद ओझा निमित्त निर्देशक रहेकोमा उनको जिम्मेवारी खोस्दै मन्त्रालयले दरबन्दी विपरीत आठौँ तहको वरिष्ठ जनस्वास्थ्य अधिकृत शिवराज सुनारलाई खटाएको छ ।

दरबन्दी विपरीत मन्त्रालयले मनलाग्दी गरेपछि मेडिकल ल्याबोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) सुदूरपश्चिम प्रदेश समिति र सरकारी प्रयोगशालाकर्मी संघ नेपाल सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल) लाई ध्यानाकर्षण पत्र बुझाएको छ । साथै सरकारी प्रयोगशालाकर्मी सङ्घ नेपाल (गोलान) ले सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव लाई ध्यानाकर्षण पत्र लेख्दै प्रयोगशालाको विकासमा नकारात्मक असर पार्ने उक्त निर्णय अविलम्ब सच्याउन माग गरेको छ।

सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको जिम्मेवारी विषय विज्ञलाई नदिइएको प्रति आफूहरूको आपत्ति रहेको मेलान सुदूरपश्चिम प्रदेशका सचिव माधव प्रसाद जोशीले बताए ।


‘कोरोना महामारीका बखत राेगको निदान, नियन्त्रण तथा रोकथामका लागि निभाएको भूमिका होस या रोग निदानमा आधुनिक चिकित्सा पद्धतिको मेरुदण्डको रूपमा रहेको क्षेत्र प्रयोगशाला हो । यसमा कुशल प्रशासकका रूपमा विषय विज्ञ हुनु आवश्यक छ भन्ने कुराको जानकारी गराउँछौँ’ मेलानका अध्यक्ष दीपेन्द्र प्रसाद तिवारीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ ।
सामाजिक विकास मन्त्री ओम विक्रम भाट (सरल)ले आफू मन्त्रालयमा नयाँ भएको र यहाँ भएका समस्याहरू बारे ब्रिफिङ लिएर संस्थागत सुधारका निम्ति चाडै समस्याहरू समाधान गर्ने बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ