कैलालीले जिल्लाका १ सय ६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण


कैलाली : राष्ट्रिय भूमि आयोग कैलालीले जिल्लाका १ सय ६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। राष्ट्रिय भूमि आयोग कैलालीले धनगढीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी गराएको हो।

भूमि आयोग कैलालीका अध्यक्ष यज्ञराज उपाध्यायका अनुसार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका लागि आयोगमा एक लाख ३० हजार बढीले निवेदन दर्ता गराएका छन्। तीमध्ये अहिलेसम्म १६५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको अध्यक्ष उपाध्यायले बताए।

जिल्लाका १३ वटै स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्त गर्नका लागि निवेदन दर्ता गराएको राष्ट्रिय भूमि आयोगले जनाएको छ।

जग्गाधनी पुर्जा पाउनेमा लम्की–चुहा नगरपालिकाका १३०, धनगढी उपमहानगरपालिकाका २२, गोदावरी नगरपालिकाका ७ र बर्दगोरिया गाउँपालिकाका ६ परिवार रहेको भूमि आयोग कैलालीका अध्यक्ष उपाध्यायले जानकारी दिए।

कैलालीमा फागुन महिनासम्म ८ हजार २ सय दुई दशमलव ३२ हेक्टर जमिनको नापनक्सा भइसकेको छ। आयोगले यस आर्थिक वर्षभित्र २० हजार भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण गर्ने लक्ष्य लिएको छ।

नगरपालिका र गाउँपालिकाले ग्रामीण क्षेत्र, सहरोन्मुख क्षेत्र, सहरी क्षेत्र र गाउँपालिकाको केन्द्र भनेर जग्गाको तहगत वर्गीकरण गर्नुपर्ने प्रावधान छ। भूमिहीन दलित र सुकुम्बासीलाई एकपटकका लागि आवास वा कृषिमध्ये कुनै एक क्षेत्रको जग्गा उपलब्ध गराइने छ।

आयोगले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई सहरी क्षेत्रमा आवासका लागि एक सय ३० वर्गमिटर (साढे सात धुर), अन्य क्षेत्रमा तीन सय ४० वर्गमिटर (एक कट्ठा) जग्गा उपलब्ध गराउनेछ। यसैगरी कृषिका लागि तराई र भित्री मधेसमा दुई हजार वर्गमिटर अर्थात् छ कट्ठा र हिमाल तथा पहाडमा तीन हजार वर्गमिटर अर्थात् नौ कट्ठा जग्गा उपलब्ध गराउने जनाइएको छ



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ