प्रदेश राजधानी दिपायलमा बनाउन प्रदेश सभा सदस्य ओलीको माग


कैलाली : डोटीबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य शिवसिंह ओलीले सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी डोटीको दिपायलमा बनाउन माग गरेका छन । मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सभाको शून्य समयमा बोल्दै उनले सो कुरा बताएका हुन ।

यसअघिको प्रदेश सभाले दुई तिहाइ बहुमतले कैलालीको गोदावरीमा तय गरेको राजधानी कार्यान्वयन हुन नसकिरहेको भन्दै उनले सन्तुलित विकासका लागि सबै जिल्लाको पायक पर्ने स्थान दिपायलमा राजधानी बनाउन माग माग गरे ।

उनले भने, ‘विगतदेखि अहिलेसम्म प्रदेश राजधानी कैलालीको गोदावरी कार्यान्वयनमा सरकार लागेको देखिएन । अहिले हामी बसिरहेको हल जिल्ला समन्वय समिति कैलालीको भवन हो । मुख्यमन्त्री बसेको भवन यातायात व्यवस्था कार्यालयको हो । अन्य मन्त्रालयको हालतमा पनि त्यही छ । यदि साँच्चै पुरानो प्रदेश सभाले गरेको निर्णय कार्यान्वयन गर्न सकिने होइन र यसको औचित्य पनि सकिएको हो भने यो प्रदेश सभामा प्रदेश राजधानीको विषयलाई नयाँ शिराबाट उठाउनको लागि म प्रस्ताव गर्न चाहन्छु ।’

सरकार नै राजधानी कार्यान्वयनमा गम्भीर नरहेको उल्लेख गर्दै उनले प्रदेश राजधानीको सवालमा सदनमा नयाँ शिराबाट कुरा अगाडि बढाउन आवश्यक रहेको बताए ।

उनले भने ‘म आग्रह गर्दछु कि, पुरानो क्षेत्रीय सदरमुकाम रहेको डोटीको दिपायलमा त्यत्रो २ हजार जना अट्ने क्षमताको सेती सभा हल छ । सबै मन्त्रालय अट्ने संरचना बनेका छन् । प्रदेशको प्रतिष्ठान त्यही छ । त्यहाँ राजधानी बनाउँदा के घाटा पर्थ्यो ? प्रदेशवासीको मनोविज्ञान र मनोआकांक्षा बुझेर सुन्तुलित विकासको अवधारणा बुझेर अगाडि बढ्ने हो भने फेरि एक पटक प्रदेश सभामा प्रदेश राजधानीको विषयलाई पुनर्विचार गर्न र सबैलाई पायक पर्ने दिपायल जो छ सन्तुलित विकासको अवधारणा अनुसार अगाडि बढाउनको लागि जोडदार माग गर्दछु ।’

यसैबिच, प्रदेश सभा बैठकमा प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले सदनमा विधेयक टेबुल गरे । प्रदेश र सङ्घको विपद् व्यवस्थापन सम्बन्धी ऐनबिच देखिएको अन्तर कम गर्न र भाषिक शुद्धताका लागि संशोधन विधेयक ल्याएको उनले बताए ।

मंगलबार बसेको प्रदेश सभा बैठकमा शून्य समयमा जानकी ऐर बम, प्रकाशबहादुर बम, वीरबहादुर थापा, मानबहादुर रावल, ललिता सुनार, सन्तोषकुमारी शर्मा थापा, मेघराज खड्का, सरस्वती खड्का र हीरा कार्कीले समसामयिक विषयवस्तुबारे सदनमा बोलेका थिए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ