एकै वर्षमा एकीकृत समाजवादीको आम्दानी ८ करोड बढी


काठमाण्डु – सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले गत आर्थिक वर्षमा झण्डै ८ करोड आम्दानी गरेको छ ।

सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदनअनुसार पार्टीको आम्दानी गत आवमा ८ करोड ४ लाख ५६ हजार ७०९ रुपैयाँ भएको छ ।

पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ ।

सो आर्थिक वर्षमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा ७ करोड ८२ लाख ६८ हजार ८११ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । पार्टी केन्द्रीय कार्यालयका लेखा प्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार ८९८ रकम बचत भएको छ ।

चालू आवको बचत र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हाल १ करोड ३२ लाख ४८ हजार ७५६ रुपैयाँ रकम बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ ।

पार्टीको चालू आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्च समेत समेटिएको लेखा प्रमुख पौडेलले बताएका छन् ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ