राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान ओलिकाे प्रस्ताव


काठमाडौँ । सत्ता गठबन्धनसहित नेकपा एमालेको बालुवाटार बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभा निर्वाचनमा मिलेर जान प्रस्ताव गरेका छन् ।

बैठकपछि एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मिलेर जान एमाले अध्यक्ष ओलीले प्रस्ताव राखेको दाबी गरेका छन् । तर त्यस विषयमा कुनै सहमति नभएको उनले बताए ।

बैठकमा गठबन्धन दलहरूबिच यसअघि आ–आफूले जितेको सिट यथावत् राखेर जान असहमति नभएपनि एमालेबाट जितेको ९ सिटमा कसरी भागबण्डा गर्ने भन्ने विषयमा दलहरूबिच सहमति नभएको उनले जानकारी दिए ।

‘एमालेबाट राष्ट्रियसभा निर्वाचनमा मिलेर जाऊँ भन्ने खाको प्रस्ताव आएको छ । एमालेको मनसाय आफूहरूलाई माइनस नगरियोस् भन्ने खालको छ’, उनले भने, ‘तर सिट बाँडफाँटमा कुनै सहमति भएको छैन । बिहीबार बिहान पुनः बैठक बस्छ ।’

यसअघि बालुवाटारमा बसेको बैठकले एमालेले सहकार्यको प्रस्ताव ल्याए के गर्ने भन्ने विषयमा प्रधानमन्त्रीले ब्रिफिङ गराएको समेत उनले बताए । एमालेलाई सिट दिने विषय कांग्रेस र माओवादीको कन्डिसनल सहमति भएको पाण्डेले दाबी गरे ।

एमालेले प्रधानमन्त्रीसँग प्रस्ताव गरेको कुरा आएको छ । यसमा एमाले स्पष्ट प्रस्ताव ल्याए मात्र त्यस विषयमा छलफल गर्न सकिने पाण्डेले बताए ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ