विश्वकपपछि २५ प्रतिशत श्रमिक कटौती गर्दै कतारका कम्पनी

करिब २० हजार नेपाली श्रमिक भए बेरोजगार


फिफा विश्वकपपछि कतारका कम्पनीहरूले श्रमिक कटौती गर्न थालेका छन् । विश्वकपलक्षित परियोजनाहरू सम्पन्न भइसकेको र नयाँ परियोजनाहरू तत्काल सञ्चालन नहुँदा कम्पनीहरूले आप्रवासी श्रमिक कटौती गरेका हुन् । कतारमा रहेका करिब चार लाख नेपाली श्रमिकमध्ये २० हजारजति बेरोजगार भएको नेपाली व्यवसायीको अनुमान छ ।

दाङका सुरज डाँगी (नाम परिवर्तन) कतार आएको चार वर्ष भयो । अहिले उनलाई कम्पनीले बेतलबी बिदामा राखेको छ । कम्पनीले उनीसहित अन्य दुई सय श्रमिकलाई बेतलबी बिदामा राखेको उनले बताए । ‘तीन महिना भयो, कम्पनीले बिदामा राखेको । काम पनि छैन, तलब पनि छैन । खान र बस्न भने दिएको छ,’ उनले भने । अब नेपाल फर्कने कि कम्पनीले बोलाउला भन्ने आसमा बस्ने अन्योल भएको उनले बताए ।

त्यस्तै, सिराहाका निलेश यादव (नाम परिवर्तन) कतार आएको तीन वर्ष भयो । उनी आजाद भिसामा कतार आएका हुन् । तर, काम नपाएर तीन महिनादेखि बेरोजगार भएको उनले गुनासो गरे । ‘अहिले काम पाउन गाह्रो छ । विश्वकपअघि त अलि–अलि काम थियो । अहिले खाली छु,’ उनले भने ।

त्यस्तै, कास्कीका रोहन मगर (नाम परिवर्तन) कतार आएको १५ वर्ष भयो । विश्वकपपछि कम्पनीले उनको भने पारिश्रमिक कटौती गरेको छ । पहिलोपटक कम्पनीले श्रमिकको २० प्रतिशत पारिश्रमिक कटौती गरेको उनले गुनासो गरे । ‘पछि कटौती गरेको रकम भरपाई गर्ने प्रतिबद्धता त गरेको छ । हेराैँ के हुन्छ,’ उनले भने ।

श्रमिक कटौती गरे पनि कतारका रोजगारदाता कम्पनीले श्रमिक फर्काउन भने चाहेका छैनन् । नयाँ परियोजना सुरु भएमा पुनः श्रमिक चाहिने हुन्छ । यसका लागि फेरि सबै प्रक्रिया गर्नुपर्दा अधिक समय र लागत लाग्ने भएकाले रोजगारदताले श्रमिकलाई बेतलबी बिदामा राखेका छन् । श्रमिक पनि नेपाल फर्कन चाहँदैनन् । बरु दुई–चार महिना बेतलबी रूपमा कतारमा नै बस्न चाहन्छन् । फेरि बिदेसिनुपर्दा ठूलो रकम बुझाउनुपर्ने भएकाले पनि उनीहरू बेरोजगार भए पनि कतारमा नै बस्न चाहन्छन् । कतारमा हाया भिसा र आजाद भिसामा आएका नेपाली श्रमिक बेरोजगार भएको दूतावासको अनुमान छ । विश्वकपपछि कतारमा आएकामध्ये करिब २० हजार नेपाली श्रमिक बेरोजगार भएको हुन सक्छ ।

कम्पनीको भिसामा नै आउने श्रमिकलाई बेतलबी बिदामा राखिएको छ । हाया र आजाद भिसामा आउने श्रमिक आफैँले काम खोज्नुपर्ने हुन्छ । कतारका कम्पनीहरूले श्रमिक कटौती गरिरहेकै वेला उनीहरूले रोजगारी पाउने सम्भावना न्यून रहेको दूतावासको भनाइ छ ।

कतारका अधिकांश कम्पनीहरूले २० देखि २५ प्रतिशतसम्म आप्रवासी श्रमिक कटौती गरेका छन् । राम्रा कम्पनीहरूले श्रमिकलाई तीन–चार महिनाको बिदा दिएर घर फर्काएका छन् । केही कम्पनीहरूले भने खान र बस्नको व्यवस्था गरी श्रमिकलाई बिदामा राखेका छन् । त्यस्तै, केहीले श्रमिकको पारिश्रमिक र सेवा–सुविधा कटौती गरेका छन् ।

विश्वकप सकिएपछि श्रमिकहरू कामविहीन भएको कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले बताए । उनका अनुसार विश्वकपको समयमा धेरै अदक्ष श्रमिक कतार भित्रिए । काम सकियो, तर उनीहरू फर्केनन् । ‘विश्वकप भर्खरै सकियो, त्यसैले नयाँ परियोजना तत्काल सुरु नभएकाले यस्तो अवस्था सिर्जना भएको हो,’ उनले भने । तर, कतारको आर्थिक अवस्थामा भने कुनै पनि असर नभएको उनको भनाइ छ ।

कतारका कम्पनीहरूले सन् २०२४ लाई पर्खेको गैरआवासीय नेपाली संघका प्रथम उपाध्यक्ष कृष्ण पन्थी बताउँछन् । नयाँ परियोजनाले पनि अर्को वर्षबाट सुरु हुने बताइएको छ । त्यसैले अझै दुई–चार महिना आप्रवासी श्रमिक बेरोजगार हुने उनको भनाइ छ ।

 अन्योलमा नेपाली व्यवसायी
विश्वकपपछि कतारमा रहेका नेपाली व्यवसायी पनि अन्योलमा परेका छन् । विश्वकपलाई लक्षित गरी कतारमा रहेका नेपाली व्यवसायीले नयाँ–नयाँ व्यवसाय सुरु गरे । तर, अपेक्षित रूपमा व्यवसाय हुन नसक्दा नेपाली व्यवसायी अन्योलमा परेका छन् । कतारमा रहेका अधिकांश व्यवसायी अहिले पर्ख र हेरको अवस्थामा रहेका एक नेपाली व्यवसायीले बताए ।

विश्वकपको दौरानमा कतारले मादक पदार्थलाई अनुमति प्रदान गर्ने घोषणा गरेको थियो । यही मौका छोपी केही नेपाली व्यवसायीले क्लब तथा रेस्टुरेन्टमा लगानी गरे । तर, अन्तिम समयमा कतारले मादक पदार्थ प्रयोग गर्नका लागि निश्चित क्षेत्र मात्रै घोषण गर्‍यो । जसका कारण अधिकांश विदेशी दर्शकहरू रात बिताउन दुबई फर्के । खेल हेर्नका लागि कतार पुगे पनि बस्नका लागि पनि विदेशी दर्शक दुबईतिर लागे ।

फलस्वरूप क्लब र रेस्टुरेन्टमा लगानी गरेका नेपाली व्यवसायी ठूलो आर्थिक मर्कामा परेको एक नेपाली व्यवसायीले बताए । ‘नेपाली व्यवसायीले करोडाैँ लगानी गरेर रेस्टुरेन्ट र क्लब खोलेका थिए । तर, लगानी उठ्न नसकेपछि बन्द हुने अवस्था आयो,’ उनले भने ।

नयाँ परियोजना सुरु नभएपछि सप्लाई कम्पनीले श्रमिकको ज्याला आधाले घटाएका छन् । यसअघि सप्लाई कम्पनीले प्रतिघन्टा १४–१५ रियालमा श्रमिक सप्लाई गर्थे । अहिले आधार ज्याला घटाउँदा पनि काम नपाइएको एक नेपाली व्यवसायीले बताए ।

विश्वकपपछि कतारले विदेशी पर्यटक भित्र्याउन नयाँ कार्यक्रमको खोजी गरिरहेको छ । हाल कतारले दोहो एक्स्पो सञ्चालन गरेको छ । एक्स्पोमा ८२ वटा मुलुकका स्टलहरू राखिएका छन् । जलवायु परिवर्तनको असरबारे सचेत गराउन कतारले ग्रो ग्रिन भन्ने नारासहित एक्स्पो सञ्चालनमा ल्याएको हो । एक्स्पोमा गत अक्टोबरदेखि सुरु भएको हो ।

आगामी मार्चसम्म सञ्चालन हुनेछ । एक्स्पोमा राखिएका स्टलहरूमा सबैले मुलुकले आआफ्ना मुलुकको पहिचान देखाउने सामग्री राखेका छन् । स्टलमा प्रयोग हुने सबै सामग्री सजिलै कुहिने खालका छन् । त्यस्तै, कतारले सन् २०२४ मा एसियन कप आयोजना गर्ने भएको छ । सन् २०२२ मा फिफा विश्वकप सफलताका साथ सम्पन्न भएपछि कतारले अर्को खेल आयोजनाको तयारी गरेको हो । यसका लागि कतारले आन्तरिक तयारी सुरु गरेको छ ।

कतारमा विश्वका ३० भन्दा बढी मुलुकका आप्रवासी श्रमिक छन् । कतारको आप्रवासी श्रमिक स्रोत मुलुकमध्ये नेपाल दोस्रो स्थानमा छ । भारत पहिलो स्थानमा छ । दोहास्थित नेपाली दूतावासको आँकडाअनुसार कतारमा करिब तीन लाख ६४ हजार नेपाली श्रमिक छन् । करिब ५० हजार संख्याका नेपाली श्रमिक गैरकानुनी रूपमा कतार बसेको अनुमान छ । विश्व बैंकको तथ्यांकअनुसार सन् २०२२ मा कतारको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन करिब ६४ हजार अमेरिकी डलर रहेको छ । कतारमा २९ लाख जनसंख्या रहेको तथ्यांक छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ