इजरायलबाट थप एक विद्यार्थीको शव काठमाडौं ल्याइयो


इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये थप एक विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । नेपाल ल्याइएको शव बझाङ जयपृथ्वी– ६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए । उनका अनुसार फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव काठमाडौं ल्याइएको हो ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये हालसम्म पाँचजनाको शव नेपाल ल्याइएको छ । बाँकी पाँचजनाको शव ल्याउन सम्बद्ध नातेदारको डिएनए संकलन गरी पठाइएको र अन्य शव पनि चाँडै नेपाल ल्याइने तयारी भइरहेको छ ।

हालसम्म दार्चुला मालिकार्जन– ४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम– ५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी– ४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ– ३ का आशिष चौधरीको शव ल्याइसकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरू इजरायल गएका थिए ।

उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषा सापही– ६ का आनन्द साह, सुनसरी मधुवन– १ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली– ३ का राजन फुलारा, डोटी लामीखाल– ८ का पदम थापा र सल्यान सारदा– ३ का प्रवेश भण्डारी रहेका छन् ।

सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त– ३ का विपिन जोशी सम्पर्कविहीन रहेका छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ