इजरायलबाट नेपालीको शव ल्याउन ढिलाइ हुनसक्छ : परराष्ट्र मन्त्रालय


काठमाण्डु – परराष्ट्र मन्त्रालयले इजरायलमा हमासको आक्रमणमा परी मारिएका १० जना नेपालीको शव ल्याउन केही समय लाग्ने जनाएको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी सहसचिव तथा प्रवक्ता सेवा लम्सालले इजरायलले शव हस्तान्तरण नगरेका कारण ढिलाइ हुने बताइन् ।

इजरायलबाट नेपाल फर्किन चाहने नागरिकलाई लिन बुधबार राति नेपाल वायु सेवा निगमको जहाज प्रस्थान गर्ने जनाइएको छ । तर इजरायलमै प्रक्रिया पूरा नभएका कारण मृत्यु भएका नेपालीको शव ढिलाइ हुनेछ ।

उनले भनिन्, ‘यसपटक शव आउँदैन । यसको प्रोटोकल हुन्छ । इजरायल सरकारले शवको हस्तान्तरण गरेपछि ल्याउने कुरा हुन्छ । ढिलो गर्ने होइन, तुरुन्तै ल्याउने हो । इजरायल युद्धको अवस्था र आपतकालीन अवस्थामा भएको कारणले पोस्टमार्टम लगायत प्रोटोकलहरूलाई मेन्टेन गर्न जोड दिने कुरा हुनसकेको छैन । हामीले अनुरोध गरेका छौं, दबाब दिने अवस्थामा छैनौं ।’

आक्रमणमा धेरै मानिसको मृत्यु भएको कारण शवको पोस्टमार्टम बाँकी रहेको भनेर इजरायल सरकारले जानकारी दिएको मन्त्रालयले जनाएको छ ।

आक्रमणमा परी घाइते भएकामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका उनले बताइन् । ‘भर्खरै २ जना विद्यार्थी अस्पतालबाट डिस्चार्ज हुनुभएको जानकारी आएको छ,’ उनले भनिन् । सम्पर्कविहीन रहेका कञ्चनपुरका विपिन जोशीको खोजीका लागि सबै संयन्त्र परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।



तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ